काठमाडौं । तामाङ समुदायले टुँडिखेलमा सोनाम ल्होछारको पूर्वसन्ध्यामा शनिबार दीप प्रज्वलन गरेका छन् । तीन दिवसीय ल्होछार महोत्सवका अवसरमा शनिबार सांस्कृतिक कार्यक्रममा रमाइरहेका तामाङ समुदायले साँझ दीप प्रज्वलन गरेका हुन् । दीप प्रज्वलनमा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङलगायत पदाधिकारी, कार्यसमिति सदस्य र सर्वसाधारणले समेत साथ दिएका थिए ।
शनिबार मंगोलिनय हर्ट लाइभ कन्टर्स गरिएको छ । कार्यक्रमको मुख्य दिन आइतबार माघ ८ गते सरकार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिनेछ । महोत्सवमा तामाङ जातिका सांस्कृतिक संस्थाहरू ताम्वा, बोन्वो तथा लामा गुरुहरूद्वारा विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्यहरू घोडचढी, दोहोरी, डान्स, डम्फू सेलो, माने तथा म्हेन्दोमाया प्रस्तुत गरिँदैछ ।
साथमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा चर्चित तथा ख्यातिप्राप्त अतिथि कलाकारहरूको प्रस्तुति रहने कार्यक्रमका संयोजक नेपाल तामाङ घेदुङका सह–अध्यक्ष कुमार घिसिङले जानकारी दिनुभएको छ । महोत्स्वमा तामाङ समुदायका विशेष खानाका परिकारहरू, वेशभूषाहरू, तामाङ जातिसँग सम्बन्धित पुस्तक, गीती क्यासेट तथा अन्य जातीय पहिचान झल्किने परम्परागत वस्तुहरूलाई विभिन्न स्टलमा बिक्री तथा प्रदर्शनी गरिँदैछ ।
तामाङहरूले मान्ने ल्होछार (नयाँ वर्ष) चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदामा शुरु हुन्छ। यस पटक मन्जुश्री सम्वत अन्सरा २८५९ औं सोनाम ल्होछार हो। प्रत्येक वर्ष १/१ वटा जनावर तथा चराचुरुंगीको नाममा फेरिने ल्हो अर्थात वर्गअनुसार यो वर्ष बाघ वर्गलाई विदाई गरी बिरालो वर्गलाई स्वागत गरिँदै छ। सोनाम ल्होछार यस वर्ष विक्रम सम्वत्अनुसार माघ ८ गते परेको छ ।
यो गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो। यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानसमेत प्रतिविम्बित गर्छ। ल्हो को अर्थ साल, सम्वत्, वर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो । ल्हो बाह्रवटा हुन्छन् अर्थात तामाङ भाषामा ल्होखोर च्युङी पनि भनिन्छ। विभिन्न बाह्रवटा पशुपंछीको नामबाट ल्होको नाम राखिएको हुन्छ। बाह्र ल्होमध्ये प्रत्येक वर्ष एक/एक वटा ल्हो फेरिन्छ।
यही ल्हो फेरिने दिनलाई तामाङ भाषामा ल्हो पोवा, ल्हो दोवा वा ल्होछार भनिन्छ। यो परम्परा कहिले शुरु भएको भन्न नसकिए पनि यसलाई चिनियाँ सभ्यतासँगै आजभन्दा ४७०० वर्षअगाडि विकास भएको चिनियाँ ज्योतिषशास्त्रको इतिहासबाट जानकारी पाइन्छ। ल्होछार पर्व चीन, मंगोलिया, जापान, हङकङ, भियतनाम, लाओस, थाइल्याण्ड, थाइवान, मलेशिया, सिंगापुरलगायत देशहरूमा पनि चन्द्रमासमा आधारित यही ल्होछार (नयाँ वर्ष) मनाउने गर्छन्।
यसरी नै विश्वमा छरिएर बसेका तामाङ समुदायले पनि यसै दिन यो पर्व धुमधामसँग मनाउने गर्छन्। सोनाम ल्होछार पर्व माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भए पनि विशेष गरेर तामाङहरूको घरघरमा कम्तिमा ५ दिन भव्य रूपमा मनाउँदै आएका छन्। ल्होछारमा विभिन्न गुम्बा, घर–घरमा पूजा गरी घर तथा सार्वजनिक स्थानहरूमा दज्र्यू गाड्ने, छो प्रसादहरू वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र, कुटुम्बको भेटघाट र सामूहिक प्रीतिभोज र साँस्कृतिक कार्यक्रम गरेर मनाइन्छ ।