काभ्रे,रासस । काभ्रेपलाञ्चोकको तामाङ समुदायको बाहुल्य रहेको खानीखोला गाउँपालिकाका विद्यालयमा आगामी शैक्षिक सत्र २०८० देखि तामाङ भाषामा पठनपाठन हुने भएको छ । गाउँपालिकाले तामाङ समुदायका बालबालिकालाई दोस्रो भाषा नेपाली भाषामा शिक्षा आर्जन गर्दा प्रभावकारी नभएकाले तामाङ भाषामा अध्यापन गराइने जनाएको हो ।
विद्यालय शिक्षामा तामाङ समुदायको अपनत्व नभएकाले तामाङ मातृभाषामा पठनपाठन गर्न लागिएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताउनुभयो । उहाँले भन्नुभयो, “तामाङ समुदायका बालबालिकाले आफ्नो भाषामा शिक्षा लिन पाउनु उनीहरूको नैसर्गिक अधिकार पनि हो ।” ती बालबालिकाले विद्यालय प्रवेश हुने बित्तिकै फरक भाषामा शिक्षा आर्जन गर्दा निकै कठिन भएको आफूले पाएको थिङले बताउनुभयो ।
गाउँपालिकाले कक्षा १ देखि ८ सम्म तामाङ भाषाको पठनपाठन गराउने योजना बनाएको हो । गत पुसमा सम्पन्न गाउँपालिकाको ११औँ हिउँदेसभाले स्थानीय भाषा नीति २०७९, खानीखोला प्रज्ञा प्रतिष्ठान ऐन २०७९ र खानीखोला भाषिक तथा स्थानीय सङ्ग्रहालय ऐन २०७९ पारित गरिसकेको थियो । शिक्षा ज्ञानको भण्डार भएकाले बुझ्ने भाषामा पढाउँदा बढी ज्ञान प्राप्त हुने देखिएप्छि तामाङ भाषामा अध्यापन गराइन लागेको थिङको भनाइ छ ।
उहाँका अनुसार मातृभाषा अध्यापनका लागि सबै तयारी पूरा भइसकेको छ । यसअघि विभिन्न चरणमा तामाङ मातृभाषामा शिक्षाका बारेमा गाउँपालिकाले विभिन्न विज्ञ तथा गाउँपालिकाभित्रका शिक्षाविद्हरूसँग परामर्श, अन्तरक्रिया, योजना निर्माणका काम गरेको थिङले जानकारी दिनुभयो । हाल पाठ्यपुस्तक तयारीको काम धमाधम भइरहेकाले यही महिनाभित्र पाठ्यपुस्तक गाउँपालिकामा पुग्ने पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।
शाखा प्रमुख विष्णुबहादुर अधिकारीका अनुसार पहिलो चरणको पठनपाठनसम्बन्धी कार्यशाला सम्पन्न भइसकेकाले अब छिट्टै पाठ्यपुस्तक छपाइ भएर गाउँपालिकामा आइपुग्नेछ । गाउँपालिकाले भने सबै विद्यालयमा तामाङ भाषालाई अनिवार्य बनाएको छैन । इच्छुक विद्यालयलाई मात्र समावेश गरिएको अध्यक्ष थिङले बताउनुभयो ।
हालसम्म १९ विद्यालय तामाङ भाषामा अध्यापन गराउन इच्छुक देखिएको जनाइएको छ । गाउँपालिकामा माध्यामिक तहको आठ, आभारभूत विद्यालय चार, १ देखि ३ कक्षा र १ देखि ५ कक्षासम्मका २६ विद्यालय छन् ।