काठमाडौं । तामाङ समुदायको एकमात्र विश्वव्यापी साझा मञ्च अन्तर्राष्ट्रिय तामाङ परिषद् (ITC)ले संगठनात्मक व्यवस्थालाई पूर्णता दिन आगामी ६ महिनाभित्र विज्ञहरुको भेला गर्ने भएको छ ।
थाइल्यान्डमा हालै सम्पन्न पाँचौ अन्तर्राष्ट्रिय विश्व सम्मेलनबाट पारित विधानको व्यवस्थाबमोजिम नौ वटा विषयगत समितिहरूलाई पूर्णता दिन विज्ञहरुको भेला गरिन लागेको हो । नवनिर्वाचित महासचिव टासी लामा तामाङले विश्व सम्मेलनबारे शुक्रबार जारी विज्ञप्तिमा उक्त विषय उल्लेख छ ।
'विधानमा परिषद्को लक्ष्य र उद्देश्यलाई पूरा गर्न विषय विज्ञहरू सम्मिलित विभिन्न नौ वटा विषयगत समितिहरू रहने संगठनात्मक व्यवस्थासमेत गरेको छ । जसमा १. तामाङ सांस्कृतिक पुनः उत्थान समिति, २. भाषा, लिपि तथा शिक्षा प्रवर्द्धन समिति, ३. प्रवासी तामाङ समन्वय, सुरक्षा तथा संरक्षण समिति, ४ वातावरण तथा तामाङ स्वः विकास परिचालन समिति, ५. तामाङ कला, संस्कृति, साहित्य, इतिहास लेखन समिति, ६. अध्ययन अनुसन्धान तथा क्षमता अभिवृद्धि समिति, ७ अन्तर्राष्ट्र्रिय तामाङ उच्चस्तरीय पञ्चाङ्ग समिति, ८. तामाङ विकास कोष निर्माण समिति र ९. तामाङ मानव अधिकार प्रवर्द्धन समिति रहेका छन्,' विज्ञप्तिमा लेखिएको छ, 'अन्तर्राष्ट्रिय तामाङ परिषद्ले आगामी ६ महिनाभित्रमा विज्ञहरूको भेला गरी उल्लेखित समितिहरु निर्माण गर्नेछ ।'
परिषद्का महासचिव लामाले थाइल्यान्डको हुवाहिन सहरमा आयोजित अन्तर्राष्ट्रिय विश्व सम्मेलन भव्यताका साथ सम्पन्न भएको निष्कर्षसाथ सम्मेलन सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापनसमेत गरेको छ । जेठ २० र २१ गते सम्पन्न सम्मेलनमा ३०० भन्दा बढी प्रतिनिधि, ताम्बा, बोन्बो लामा, बुद्धिजीवी, पत्रकार, अतिथिहरुको सहभागितामा उत्सवमय तवरले सम्पन्न गरेको परिषद्को विज्ञप्तिमा लेखिएको छ ।
थाइल्यान्डका साथै नेपाल, भारत, बर्मा, अमेरिका, जापान, हङकङ, दक्षिण कोरिया, पोर्चुगल, यूएई, बहराइन, रोमानियासहित १२ देशका १६ सदस्य संस्थाहरुबाट प्रतिनिधि सम्मेलनमा सहभागी थिए ।
यसपटकको सम्मेलनले विधान संशोधन गर्दै महासचिव कार्यकारी पद रहने गरी ७ सदस्यीय कार्यसमिति चयन गरेको थियो । अध्यक्षमा थाइल्यान्डका चम्म्पाडोल्मा लामा, महासचिवमा नेपालका टासी लामा तामाङ, उपमहासचिवमा अमेरिकाबाट लक्यान लामा, सचिवमा भारतका प्रेमबहादुर जिम्बा, सम्बन्धन सदस्यहरुको तर्फबाट सचिवमा दक्षिण कोरियाबाट शुभराज बोम्जन, महिला सचिवमा रोमानियाबाट बुदुमाया योञ्जन, कोषाध्यक्षमा जापानबाट प्रतिनिधित्व गरेका हवलचन्द्र लामालाई जिम्मेवारी दिइएको थियो ।
त्यस्तै सम्मेलनले आगामी कार्यकाल तीन वर्षका लागि विश्व कार्ययोजना,परिषद्को प्राथमिकताहरु,समसामयिक प्रस्तावहरु र संशोधित विधान सर्वसम्मतले पारित गरेको थियो ।