काठमाडौं । नेपाल तामाङ घेदुङले शनिबार ६८ औं स्थापना दिवस मनाउँदै छ ।
तामाङ घेदुङ संघीय कार्यसमितिले दिउँसो १ बजे घेदुङ सभाहल बौद्ध चुच्चेपार्टीमा विभिन्न कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाउने लागेको हो । घेदुङ महासचिव जगतमान लामा दोङले शुभकामना आदन–प्रदान, घेदुङ सभाहलका लागि सहयोग गर्नेलाई कदरपत्र प्रदान, तामाङ अगुवाको मन्तव्यलगायत कार्यक्रम गरी स्थापना दिवस मनाइने जानकारी दिनुभयो । यस्तै प्रदेश तथा जिल्ला घेदुङ र प्रवास घेदुङले पनि कार्यक्रमहरु गर्ने जनाइएको छ ।
तामाङहरुको राष्ट्रिय साझा संस्था नेपाल तामाङ घेदुङको स्थापना २०१३ सालमा भएको हो । यो संस्था नेपाल आदिवासी जनजाति महासंघको ८ संस्थापक सदस्य संस्थाहरूमध्ये एक हो । घेदुङ नेपाल सरकारले स्थापना गरेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद् सदस्य संस्था पनि हो । घेदुङको सातवटै प्रदेशमा प्रदेश समिति, ६२ जिल्लामा जिल्ला शाखा, ३०० भन्दा बढी गाउँपालिका/नगरपालिकामा स्थानीय समिति र ७०० बढी स्थानमा वडा कार्य समिति रहेका छन् ।
तामाङ घेदुङले तमाङ समुदायको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक आन्दोलनका विषयलाई उठाउँदै आएको छ । तामाङ मातृभाषा, लिपि, ल्होछार पर्व, तामाङको जन्मदेखि मृत्युसम्मको संस्कारहरू र अन्य तामाङ विविधताको प्रवर्द्धन, विकास, एकरूपताको साथै तामाङ जातिको हक, अधिकार स्थापना र ताम्सालिङ पहिचानको आन्दोलनलाई घेदुङले निरन्तरता दिँदै आएको महासचिव दोङले बताउनुभयो ।
घेदुङको हाल १०१ सदस्यीय संघीय कार्यसमिति रहेको छ भने २१ पदाधिकारी र ४३ सदस्यीय सचिवालय रहेको छ । ७ वटा भ्रातृ संगठन (महिला, युवा, विद्यार्थी, लामा, संस्कृति, ताम्बा, बोन्बो) र ७ वटा विभागहरू (भाषा, संचार, उद्योग, कर्मचारी, ह्रुई–वंशावली, पुरातात्विक र सामाजिक कल्याण विभाग) छन् ।
त्यसैगरी विदेश तथा प्रवासस्थित डेढ दर्जन बढी मुलुकहरू कुवेत, भारत, इजरायल, अमेरिका, बेलायत, मलेसिया, दक्षिण कोरिया, बहराइन, मकाउ, बेल्जियम, रोमानिया, पोर्चुगल, जापान, ओमन, साउदी, दुबई, कतार, हङकङ, अस्ट्रेलिया, साईप्रस, क्यानडा, इराकमा शाखा तथा घेदुङमा आबद्ध तामाङ संस्थाहरू क्रियाशील छन् ।
घेदुङ तामाङ समाजको हित चाहने एक लाभ निरपेक्ष, साझा र राष्ट्रिय स्तरको समुदायमा आधारित (Community Based Organizations) सामाजिक संगठन हो । जसले गर्दा यो NGOS नभएर CBOS/IPOS अर्थात् आदिवासी जनजाति समुदायको संगठनको रूपमा चिनिन्छ । यसले नेपालका समस्त तामाङ समुदायको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक आन्दोलनको प्रतिनिधित्व गर्दछ ।
तामाङ समुदायको मातृभाषा, लिपि, ल्होछार पर्व, तामाङको जन्मदेखि मृत्युसम्मको संस्कारहरू र अन्य थुप्रै तामाङ विविधताको प्रवर्द्धन, विकास, एकरूपताको साथै तामाङ जातिको हक, अधिकार स्थापना र ताम्सालिङ पहिचानको लागि समेत घेदुङले संस्थागत रूपमा स्थापनाकालदेखि नै निरन्तर काम गर्दै आइरहेको छ । यसरी यो संस्थाले संसारभर छरिएर रहेको तामाङ जातिलाई सामाजिक, सांस्कृतिक रूपमा एकठाउँमा गोलबन्द गरेको छ ।
तामाङ समाजमा आजसम्मको मुख्य सामाजिक रूपान्तरणको सबै उपलब्धिहरू घेदुङकै महत्त्वपूर्ण देन भएको महासचिव दोङको दाबी छ ।