सोनाम ल्होछार विशेषगरी एसियाकै सबभन्दा पुरानो चन्द्र पात्रोअनुसार मनाइन्छ । जसलाई हामीले 'सिन्ची ल्होथो' भन्छौं । कृषि पात्रोले निर्धारण गर्ने विशेष नयाँ वर्ष हो । यो वर्ष हामीले २८५८ औं ल्होछार मनाउँदैछौं । नेपालमा तामाङ समुदायले सोनाम ल्होछार मनाउने गर्दछ । सोनाम ल्होछार नेपालसहित चीन, जापान, कोरिया, लाओस कम्बोडियादेखि हङकङ सिंगापुर, मलेसियाहरुमा पनि एकैसाथ मान्ने गरिन्छ ।
यसपाली नेपालको सूर्य पात्रोले माघ १९ गते सोनाम ल्होछार देखाएको भए तापनि 'सिन्ची ल्होथो' (कृषि पात्रो)ले १८ गतेको दिनमा बताएको छ । त्यसैले सोनाम ल्होछार १८ गतेबाट सुरु हुन्छ । ल्होछार विशेषगरी मौसम परिवर्तन हुने, उमंग चराचर जगतमा उत्पन्न हुने, मानिसहरुलाई काम गर्नका लागि अनुकूल वातावरण सुरुवात हुनेजस्ता थुप्रै कुराले सम्पन्न भएको तिथिको रुपमा हामीले लिने गर्छौं । यसलाई हर्सोल्लासका साथ मनाउने गर्छौं ।
यसलाई धार्मिक र सांस्कृतिक परम्पराअनुसार मनाउने चलन छ । धार्मिक परम्परा भन्नाले, हामीले ल्होछारको दुई दिनअघि ठूलो पूजा गर्ने गरिन्छ । कसैले ल्होछारभन्दा ८/९ दिनअगाडि नै पूजाहरु चलाउने चलन छ । नेपालका पूर्वीय घ्याङहरुमा ७ दिन ठूला पूजा, तोर्दोपहरु गर्ने, संसारभर दशाग्रहका लागि पूजा गर्ने गरिन्छ । औंसीभन्दा १ दिनअघि आमाज्योमो मन्छाइसकेपछि लोथोकहरु खाएर रमाइलो गर्छौं । औंसीको दिनमा घरका महिला, पुरुष सबैजना सरसफाई गरेर प्रतिपदाको दिनका लागि तयार गरिन्छ ।
माघ शुक्ल प्रतिपदाको दिन ल्होछार मान्ने परम्परा रहेको छ । ल्होछारको दिन बिहानै अभिभावक, छोराछोरी उठेर पूजा चढाउने, त्यसपछि अभिभावकहरुलाई ढोग्ने अनि आमाबुबाहरुबाट आशीर्वाद लिने । आमाबुबाहरुले पनि छोराछोरीहरुलाई आशीर्वाद दिने र केही उपहारहरु दिने चलन छ । उक्त दिन आमाबुबाबाट आशीर्वाद लिइसकेपछि गुम्बामा गएर गुरुबाट वाङ (आशीर्वाद) थाप्ने, पूजामा सहभागी हुने । त्यस्ता पूजाबाट थुप्रै लाभान्वित हुने मान्यता रहेको छ ।
ल्होछारको तेस्रो दिनमा हामीले विशेषगरी लुङ्दरहरु लगाउने चलन छ । लुङ्दर लगाउँदा अत्यन्तै राम्रो हुन्छ भन्ने मान्यता छ । खाप्सी लुङ्दरको माथि झुन्ड्याइ लगाउने चलन छ । हिन्दुधर्ममा गुरुले सबैलाई शुभमंगल होस भनेर होली खेल्ने चलन छ । ल्होछारमा पनि चाम्पाले सबैजनालाई शुभमंगल होस् भनेर शुभसाइत गरेर होली खेलेजस्तै गरेर शिरमा पुङ्मा लगाइदिने चलन छ । त्यो बेला बच्चाहरुले रमाइलो गर्नका लागि चाम्पाको पिठो एकअर्कामा दल्ने चलन छ ।
हाम्रा पूर्वजहरुले गुम्बाहरुमा मनाउँदै आएका छन् । हालैको दिन छेपाचुङ तृतीयको दिनमा हालैका दिन यो चलन प्राय: कम देखेका छौं । यसरी छेपाचुङ अर्थात् पूर्णिमाको दिनसम्म हामीले आफन्तहरु भेट्न जाने, ठूलाहरुबाट आशीर्वाद थाप्ने । टाढाटाढाकाहरुसँग आपसमा भेट्ने, गाउँमा सामाजिक, धार्मिक कामहरु गर्न गरिन्छ । स्तूपहरु, गुम्बाहरु निर्माणमा लागिपरेका हुन्छन् । गुम्बा निर्माणको सहयोग संकलनका लागि विभिन्न सांगीतिक कार्यक्रम लिएर घरदैलो गर्ने र त्यसपछि रमाइलो गर्दै अर्थ संकलन गरी गुम्बा निर्माण गर्ने, स्तूपहरु निर्माण गर्ने चलन छ । यो विशेषगरी छेपाचिक, छेपाच्योङ्ङा प्रतिपदादेखि पूर्णिमासम्म एकदमै पून्यको कामहरु, सहयोगका कामहरु गर्ने ठूलो परम्परा छ । यसरी १५ दिन राम्रो काम गर्न सक्यौं भने वर्षैभरि राम्रो काम हुन्छ र यो पुन्यकार्यले वर्षैभरि हामी सुखी, शान्त, समृद्ध, दीर्घायू, सुस्वास्थ्य र पून्यवान् बनेर एकदमै राम्रो हुन्छ भन्ने चलन छ । त्यसकारण पूर्णिमाको दिनसम शुभकार्यका लागि सामाजिक कामका लागि, धार्मिक कामका लागि हिमाली बौद्ध परम्परामा तामाङ, शेर्पा, गुरुङ आदि जातिहरुले ल्होछार मनाउने चलन छ ।
पहिलेको ऋण छ भने सकेसम्म ल्होछारभन्दा अगाडि नै तिरिसक्ने, लेनदेन नराम्रो छ भने सबै राम्रो पार्ने परम्परा रही आएको छ । त्यसकारणले एवम्रितले हामीले ल्होछार राम्रोसँग मान्न सकियो भने हामी एकदमै समृद्ध हुन सक्छौं । शान्त हुन सक्छौं । यसबाट हामीलाई थुप्रै कुराहरु प्राप्त हुन सक्छन् । हाम्रो भाषा, भेषभूषा, धर्म संस्कृतिको जगेर्ना गर्न सकिन्छ । यसको संरक्षण र प्रवर्द्धन गर्न सकिन्छ । ल्होछारका दिनमा घरभित्र, बाहिर झिलिमिली बत्ती बाल्ने र भित्र पारम्पारिक छुमीहरु बाल्न सकिन्छ । यो ल्होछारमा मात्रै नभएर बुद्धपूर्णिमा, धर्मचक्र प्रवर्द्धन दिवसमा, देव अवतरण दिवसजस्ता महान् र पुनित तिथिहरुमा घरबाहिर इलेक्ट्रोनिक बत्ती र भित्र परम्परागत बत्ती बाल्न सकिन्छ । यस्तो पुन्य काम गरेर हामीले ल्होछार मनाउनुपर्दछ ।
भिडियो