ललितपुर । कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङतानले मातृभाषा शिक्षा कार्यक्रम आफ्नो पालिकाको थप पहिचान भएको बताउनु भएको छ । मातृभाषा शिक्षाको तीन दिने पुनर्ताजगी कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिङतानले अब कुनै पनि हालतमा यो कार्यक्रम नरोकिने पनि बताउनु भयो ।
८० प्रतिशत तामाङ समुदायको बसोबास रहेको पालिकामा सोचविचार गरेर नै मातृभाषा शिक्षा लागू गरिएको उहाँको भनाई थियो । अध्यक्ष सिङतानले मातृभाषा शिक्षा संचालन गर्न चुनौतीहरू भएता पनि राम्रो कामका लागि जस्तोसुकै चुनौतीको सामना गर्न गाउँपालिका तयार रहेको बताउनु भयो ।
चालु शैक्षिकसत्र देखि गाउँपालिकाले आफ्नो सामुदायिक विद्यालयहरूमा तामाङ भाषामा शिक्षा लागू गरिएको हो ।
अध्यक्ष सिङतानले आगामी निर्वाचनपछि गठन हुने कोन्ज्योसोम गाउँपालिका सरकारले मातृभाषा शिक्षा कार्यक्रमलाई थप प्रभावकारी रूपमा सन्चालन गर्न ३६ जना दरबन्दीको व्यवस्था गरिने घोषणासमेत गर्नुभयो । गुणस्तरीय शिक्षाका लागि संविधान, ऐन, राष्ट्रिय पाठ्यक्रम प्रारूपले तयार गरेको व्यवस्थाका आधारमा यस खालको कार्यक्रम लागू गरिएको उहाँको भनाइ थियो ।
‘मातृभाषा शिक्षा कार्यक्रम असफल होला कि भन्ने कुनै चिन्ता नलिनुहोला, शिक्षामा कोन्ज्योसोमले नामअनुसारको काम गरेको हो’ उहाँले भन्नुभयोे, ‘यो हाम्रो पहिचानको सवाल मात्र नभएर बालबालिकाको मातृभाषामा शिक्षा लिन पाउने अधिकारको विषय पनि हो’ । मातृभाषा शिक्षासम्बन्धी रहेको भ्रम र कतिपय अस्पष्टताहरूलाई समुदायका अगुवा, बुद्धिजीवी र अभिभावकहरूसँग सामुहिक अन्तरसम्वाद गरी क्रमशः मेटाउँदै जाने योजना रहेको उहाँले बताउनुभयो ।
शिक्षा क्षेत्रमा सुधारमा लागि आफ्नो कार्यकालमा सकेको प्रयास गरिएको बताउँदै अध्यक्ष सिङतानले सङ्घीय सरकारको सहयोग मिलेमा कोन्ज्योसोमलाई निजी विद्यालयमुक्त क्षेत्र बनाउने सोंच रहेको बताउनु भयो । शिक्षामा पनि अब नयाँ सोच र योजनासहित अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
पुनर्ताजगी कार्यक्रमको उद्घाटनसत्रमा पालिकाका उपाध्यक्ष मिङमा लामाले विभिन्न चुनौतीहरू मोल्दै गाउँपालिकाले मातृशिक्षा शिक्षाको अवधारणा लागू गरेको बताउनु भएको थियो । उपाध्यक्ष लामाले देश विदेशका भाषा सिक्न हुने, तर आफ्नै मातृभाषामा पढ्न किन नहुने भन्दै गुणस्तरीय शिक्षाकै लागि यस्तो कार्यक्रम सुरु गरिएकाले अनावश्यक टिकाटिप्पणी नगरी साथ सहयोग पु¥याउन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाका शिक्षा अधिकृत विष्णुप्रसाद आचार्यले बालबालिकाहरूको ज्ञानको दायरा फराकिलो बनाउन, सरल ढङ्गले शिक्षण क्रियाकलाप गर्न र विषयवस्तु बुझाउन मातृभाषा शिक्षा कार्यक्रम सञ्चालन गरेको बतउनु भयो ।
तीन दिने कार्यक्रममा मातृभाषा पाठ्यपुस्तक लेखकद्वय प्रतीक ङेसुर तामाङ र लिलाबहादुर स्याङतानले सहजीकरण गर्नुभएको थियो । आगामी वर्ष कक्षा दुईका लागि आवश्यक पाठ्यपुस्तक लेखन कार्य अन्तिम चरणमा पुगिसकेको लेखक ङेसुरले जानकारी दिनुभयो । स्थानीय स्रोत व्यक्ति, शिक्षक र अन्य जानकार व्यक्तिहरूसमेतको सहभागितामा पाठ्यपुस्तक तयारीको काम भइरहेको उहाँले बताउनुभयो ।