सिन्धुली । आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनको चहलपहल चलिरहेको छ । पाँच वर्षको कार्यकाल पूरा गरेपछि पुनः नयाँ नेतृत्व चयनका लागि सबै पार्टीका नेता तथा कार्यकर्ता नागरिकका घरदैलो कार्यक्रममा व्यस्त छन् । संघीयता लागू भएपछि नागरिकले धेरै सेवासुविधा स्थानीय सरकारबाट प्राप्त भएको महसुस गरेका छन् । सिन्धुलीमा ९ स्थानीय तह छन् । यो जिल्लामा कमलामाई र दुधौली गरी दुई नगरपालिका, ७ गाउँपालिका छन् । मरिण, फिक्कल, तीनपाटन, हरिहरपुरगढी, घ्याङलेख, सुनकोसी र गोलन्जोर गाउँपालिका रहेका छन् ।
२०७४ सालको निर्वाचनमा नेकपा (एमाले)ले दुई नगरपालिकाका मेयर र एक गाउँपालिका अध्यक्ष निर्वाचित भएको छ । नेकपा (माओवादी केन्द्र)ले मरिण, हरिहरपुरगढी र सुनकोसी गाउँपालिकामा निर्वाचित भएको थियो । नेपाली कांग्रेसको तीन पाटन, घ्याङलेख र गोलान्जोर गाउँपालिका गरी ३ स्थानीय तहमा नेतृत्व हात पारेको थियो ।
सुनकोसी गाउँपालिकामा माओवादी केन्द्रका दिपा बोहोरा दाहाल अध्यक्षमा हुनुहुन्छ । सो गाउँपालिकामा पुरुष उपाध्यक्षमा निर्वाचित हुनुभएको छ भने अन्य स्थानीय तहमा उपप्रमुखमै सीमित देखिन्छन् । तीमध्ये देवकोटाबाहेक सबै आदिवासी जनजाति समुदायका हुनुहुन्छ । सिन्धुली जिल्लाको सबै स्थानीय तहका उपप्रमुखहरुको योजना आउँदो निर्वाचनमा नेतृत्वमा दाबी रहेको छ । यो ५ वर्षको कार्यकालमा धेरै कुरा जान्ने र गाउँ, समाजको विकास गर्ने मौका पाएको भन्दै अबको निर्वाचनमा उहाँहरु अध्यक्ष तथा मेयरमा चुनाव लड्ने मनस्थितिमा हुनुहुन्छ । जसका लागि गृहकार्य समेत सुरु भइसकेको उहाँहरुले बताउनुभएको छ । ग्लोबल मिडियाले तपाईं अध्यक्षमा उठ्नुहुन्छ कि हुन्न, उम्मेदवार बनेमा के छन् मुख्य एजेन्डा भनेर सोधेको छ । प्रस्तुत छ, उहाँहरुको भनाइ जस्ताको तस्तै :
मञ्जु देवकोटा
उपमेयर, कमलामाई नगरपालिका
नेकपा (एमाले)
आन्तरिक रुपमा म मेयरमा उठ्ने तयारीमा लागिरहेको छु । उपप्रमुखमा महिलालाई अनुभव पनि हुन्छ भन्ने तरिकाले अनिवार्य जस्तै बनाइयो । अब मसँग मेयर भएर काम गर्न सक्ने अनुभवहरु भएकोले आन्तरिक तयारीमा लागेको हुँ । यस बारेमा पार्टीले पनि बुझ्नु पर्छ । जनताको समस्यालाई आफू निर्णायक तहमा बसेर समाधान गर्ने मौका मिल्यो । समग्र विकासको नियम कानुनमार्फत जनतालाई सुशासन, विकास दिने विषयमा कामहरु भइरहेका छन् ।
उपमेयर रहेर काम गर्दा पनि मलाई कमलामाई नगरपालिकाको विभिन्न समितिको संयोजक बनाइएको छ । मेरो नेतृत्वमा पनि धेरै कामहरु भएका छन् । यो ५ वर्षमा राम्रो काम भएको छ । पार्टीले दिएको जिम्मेवारीलाई राम्रोसँग पूरा गरेँ जस्तो लाग्छ । उपमेयरलाई आर्थिक अधिकारको जिम्मेवारी नभएकोले काम गर्ने क्रममा केही बाधा अड्चनहरु देखिन्छन् । केन्द्रबाट नै उपमेयरले यत्ति खर्च गर्न पाउने भन्ने विषयलाई उल्लेख गरिएको भए शिर उठाउने ठाउँ हुन्थ्यो । आर्थिक अधिकार उपप्रमुखलाई पनि छ, तर बोल्ने र निर्णय गरेर नदिएसम्म हामीलाई अधिकार रैनछ, यो कुरा पछि बुझियो ।
अन्य कार्यहरु हामीले भूमिकामा रहेर गर्यौं तर यति प्रतिशत बजेट उपप्रमुखले चलाउन पाउने भन्ने विषय लेखियो भने अब आउने उपप्रमुखहरुलाई सजिलो हुन्छ ।
५ वर्ष काम गरेको अनुभव भयो । अझ परिणाम निकाल्न एक पटक मेयरमा उठ्ने मेरो चाहना छ । हिजोका दिनमा महिलाहरुलाई अनुभव पनि हुन्छ भन्ने तरिकाले उपप्रमुखमा अनिवार्य जस्तै बनाइयो, प्रमुखमा कमै महिलाहरु आउनुभयो । त्यस कारणले गर्दा म कमलामाई नगरपालिकाको मेयरमा उठ्ने रहेको छ । ०४६ सालको विद्यार्थी आन्दोलनदेखि नेकपा एमालेमा रहेर काम गरेँ । पार्टीले दिएको जिम्मेवारी मैले पूरा गरेको छु । ३ कार्यकाल जिल्ला कार्यसमितिको सदस्य भए । अहिले नेकपा (एमाले) सिन्धुलीको उपसचिव छु । जनताका मत पक्कै पनि मैले प्राप्त गर्नेछु ।
अबका दिनमा म मेयरमा निर्वाचिन भएको खण्डमा तथ्य र तथ्यांकको आधारमा जनताको जनजीविका, उद्योग, रोगजारी, गाँस, बाँस, कपास, कृषि, स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने नै छु ।
बालकुमारी अधिकारी
उपमेयर, दुधौली नगरपालिका
नेकपा (एमाले)
दुधौली नगरपालिकामा महिला मेयरको माग छ । सबैभन्दा ठूलो कुरा टिकट नै पाउनु हो । पार्टीले टिकट दिएको खण्डमा मेयरको रुपमा काम गर्नको लागि म तयार छु । दुधौली नगरपालिकामा पुरुष दाजुभाइको योजना धेरै भएको र संख्यागतरुपमा पनि उहाँहरुको बढी नै चासो देखिन्छ । स्थानीय निर्वाचनले म जस्ता घरायसी काममा सीमित भएका महिलालाई जनप्रतिनिधिको रुपमा पार्टीले अवसर पनि प्रदान गरेको हो ।
पार्टीले विश्वास गरेर जिम्मेवारी प्रदान गरेको खण्डमा पूरा गर्नलाई कुनै पनि समस्या हुने छैन । ५ वर्षको उपमेयरको अनुभवले पनि स्थानीय तहमा काम गर्नुपर्ने धेरै विषयवस्तु बारेमा जान्ने अवसर मिलेको छ । पार्टीले मलाई मेयरमा टिकट दिएको खण्डमा अन्य कामका साथै महिलाका विभिन्न समस्याहरुलाई मुख्य प्राथमिकतामा राख्ने छु । चेतनाका साथै महिलालाई अगाडि बढाउनका लागि धेरै प्रयास गर्ने छु । साथै बालबालिका, अपाङ्ग अथवा फरक क्षमता भएका लक्षित वर्गलाई मेरो कार्यक्रम हुनेछन् ।
गंगादेवी श्रेष्ठ
उपाध्यक्ष, गोलन्जोर गाउँपालिका
नेपाली कांग्रेस
नेतृत्व गर्नको लागि अब कुनै पनि समस्या छैन । मैले अध्यक्षको जिम्मेवारी पूरा गर्न सक्ने क्षमता र अनुभव पाइसकेको छु । यो ५ वर्षको अनुभवले धेरै कुराहरु सिकाएका छन् । तर मै अध्यक्षमा हुनुपर्छ भन्दा पनि पार्टीको कुराहरु पनि आउँछन् । हाम्रो गाउँपालिकामा पुनः पुरा नै जनप्रतिनिधिले दोहोर्याउने हो कि भन्ने कुराहरु पनि भइरहेका छन् । सबैको सहकार्य र सहमतिमै जानु पर्ने भएकोले यस पटक उपाध्यक्षमै फेरि हुने हो कि भन्ने कुराहरु पनि आइरहेका छन् अझै टुंगो लाग्नलाई बाँकी नै छ । पुनः जनताले परीक्षण पनि गरुन् भन्ने कुराहरु पनि आइरहेको छ । नेपाली कांग्रेस सिन्धुलीको भूगोलको तर्फबाट जिल्ला कार्यसमितिमा छु । पारिवारिक व्यवहार व्यवस्थापन गरेपछि म खुलेरै २०६५ सालबाट नेपाली कांग्रेसमा लागेको हुँ तर मेरो परिवार सबै कांग्रेुस नै हो ।
आफ्ना कार्यकालमा चाहँदा चाहँदै पनि पन्च वर्षे योजनामा अधुरा रहेका कामहरु पूरा गर्नुपर्ने छन् । शिक्षा, स्वास्थ्य, कृषि, सडक, भौतिक पूर्वाधारहरुलाई नै व्यवस्थित गर्नुपर्ने छ । जनसमुदायको माग पनि अनुसार काम गरिरहेका छौं भोलिका दिनमा पनि उहाँहरुको चाहनाअनुसार काम गर्दै जानेछौं ।
अनिताकुमारी राई
उपाध्यक्ष, हरिहरपुरगढी गाउँपालिका, सिन्धुली
पार्टीले मूल्यांकन गरेको छ कि छैन भन्ने पर्खाइमा छौं । यदि मूल्यांकन गरेन भने आफैं नेतृत्वका लागि उम्मेदवारी दिने तयारीमा छौं । हाम्रो हरिहरपुरगढी गाउँपालिका विकट पालिका हो । हामीले पहिलो कार्यकालमा सडक बाटोलाई प्राथमिकता दियौं । बिजुली थियो, खानेपानी समस्या हल गर्ने मुख्य विषय थिए । ती योजनालाई पनि पूरा गरेर अब म उम्मेदवार बनेँ भने शिक्षा, कृषि र पशुपालनलाई मुख्य एजेन्डा बनाएर जानेछु ।
पदममाया तामाङ
उपाध्यक्ष, तीनपाटन गाउँपालिका
नेकपा (एमाले)
स्थानीय तह निर्वाचनमार्फत यो ५ वर्षको अवधिमा जनताको सेवामा धेरै काम गर्यौं । जनता र पार्टीको साथीहरुले पनि अब अध्यक्षमा जानुपर्ने राय दिनुभएको छ । कामको आधारमा मूल्यांकन गरेर पार्टीले टिकट दिन्छ भन्ने मैले आश गरेको छु । आन्तरिकरुपमा मैले टिकटको लागि त्यस्तो पहल गरेको छैन । कार्यकर्ताहरुले मेरो कुरा सम्बन्धित ठाउँमा पुर्याएको छ ।
५ वर्षको काम गरेको राम्रो अनुभव भएको हुँदा एक पटक गाउँपालिका अध्यक्ष चलाउनु पर्यो, म अध्यक्ष हुँदा गाउँपालिकामा धेरै कुरा हुने सबैजनाले आश गर्नुभएको छ । पार्टीले पनि महिलालाई एक तह बढाएर लानु पर्छ भन्ने कुराको डिसिजन गर्छ भन्ने आशा गरेको छु । ठूलो आधार भनेको जनता हो । जनताको घरदैलोमा पुग्दा सकारात्मक कुराहरु आएको हुँदा चुनाव जित्ने आधार छ । टिकट दिनुमात्रै ठूलो कुरा होइन टिकट दिएपछि अध्यक्ष जित्ने तरिकाले हामी लागेका छौं ।
पार्टीमा पनि निरन्तररुपमा महिला नेतृत्वका कुराहरु उठायौं भने अब स्थानीय तहमा पनि महिला नेतृत्वका विषयलाई अघि सार्ने छौं । म नेकपा एमाले तीनपाटन गाउँ कमिटीको सचिव छु । एजेन्डा नै भन्नु भन्दा पनि काम गर्दै जाँदा योजना र आधारहरु त्यहीबाट निस्कने हो । 'एक घर एक धारा,' सडक स्तरउन्नती लगायत धेरै कुराहरु बाँकी रहेको हुँदा यी कुरालाई अघि सार्ने छु ।
दुर्गादेवी सुनुवार
उपाध्यक्ष, घ्याङलेख गाउँपालिका
नेपाली कांग्रेस
प्रमुख तथा उपप्रमुखमध्ये एकमा महिला अनिवार्य बनाउँदा महिलाले मौका पाएको हो र विधिले पाएको हो । दोस्रो चरणको निर्वाचनमा जाँदा उपाध्यक्षहरुले जो काम गर्न सक्ने महिलाहरुको अवसर गुम्न सक्ने अवस्था पनि आइरहेको छ । यो एउटा पार्टीको मात्रै होइन सबै पार्टीमा देख्छु म । किनभने गठबन्धनको अवधारणाले गर्दा महिलाले प्रतिस्पर्धा गर्न सक्दैन भन्ने पुरुषले भावनाहरु पोखिराखेको छ । तर प्रतिस्पर्धा गर्न सक्ने महिलाले भने अवसर पाउनु पर्छ । त्यो पाउनको लागि विधि नै ढाल्नु पर्छ नत्र भने सम्भावना छैन ।
पार्टीभित्र निरन्तररुपमा संघर्ष गर्ने दु:ख र हैसियत बुझ्ने महिलाहरु छुट्नु हुँदैन भन्ने मेरो भनाइ हो । त्यसरी जानको निमित्त नीति नै बनाउनु पर्छ । प्रमुखमा नै महिलालाई सके ५० प्रतिशत नसके ३३ प्रतिशत अनिवार्य नै बनाउनुपर्छ । केन्द्रीय महिला नेतृहरुसँग मैले छलफल गरेको छु । केन्द्रमा पुग्नु भएको महिला नेतृहरुले मैदानमा हेर्नुभएन, टेक्ने धर्तीमा हेर्नुभएन भने दुर्भाग्य हुने छ भनेर मैले भनेको पनि छु ।
संघीयता आउनुभन्दा पहिला भूगोलको अवस्था जीर्ण थियो । अहिले नागरिकले धेरै कुरा पाउनु भएको छ । हामी शून्य अवस्थाबाट उठेका हौं । जहाँ बिजुली, सडक, खानेपानी केही कुराको पनि राम्रो व्यवस्था थिएन । कृषि, भौतिक पूर्वाधारको एजेन्डा थिएन ती सबै कुराहरु हामीले व्यवस्था गर्दै आएका छौं । त्यो अवस्थालाई पूरा गर्न दिगोपन ल्याउन अझै बाँकी छ ।
कृषि क्रान्ति, कृषकलाई देशमै स्वाबलम्बन बनाउनु पर्ने छ । सभ्य समाजको निर्माण गर्न सभ्य नागरिक बनाउनु नै पर्छ । हरेक कुरालाई दिगो बनाउन धेरै बाँकी रहेको छ । म अध्यक्षमा निर्वाचित भएको खण्डमा ती कुरालाई प्राथमिकतामा राख्ने छु । अधुरा कामहरुलाई पूरा गर्ने मेरो सोच हो ।
पार्वती सुनुवार
उपाध्यक्ष, फिक्कल गाउँपालिका
नेकपा (एमाले)
म महिलाको कोटामा भन्दा पनि खुल्लारुपमा अघि बढ्दै आइरहेको छु । अघिल्लो निर्वाचनमा मेरो अध्यक्षमा दाबी थियो । तर त्यो पूरा नभएको हुँदा अबको निर्वाचनमा अध्यक्षमा उठ्ने मेरो तयारी हो । नेकपा एमालेको जिल्ला कमिटीमा बसेको ३ कार्यकाल भइसकेको छ । मलाई लाग्छ पार्टीले पनि विश्वास गरे अध्यक्षको टिकट पाउने छु ।
उपाध्यक्ष भएपछि गाउँपालिकामा धेरै कुरामा परिवर्तन आएको छ । खानेपानी, बिजुली, संचार, शिक्षाका विषय यो कार्यकालमा उठाएका छौं । म निर्वाचित भएको खण्डमा संविधानले प्रदत्त गरेको मौलिक हकहरु कार्यान्वयन गर्न लागि पर्ने छु ।
संगीता माझी
उपाध्यक्ष, मरिण गाउँपालिका, सिन्धुली
निर्वाचन नजिकिँदै गए पनि अहिले नै उम्मेदवार बन्छु भन्न सकिँदैन । अध्यक्षमा दाबी गर्ने सोच छ । त्यसको पूर्वतयारी भइरहेको छ । तर नयाँलाई अवसर दिउँ भन्ने पार्टी निर्णय भएमा पनि स्वीकार्न तयार छु । यदि पार्टीले उम्मेदवार बनायो भने पहिलो कार्यकालमा सुरु भएका सबै अधुरा कामलाई पूर्ण बनाउनेतिर लाग्ने छु । बाटो निर्माण, स्वास्थ्य, शिक्षा र कृषिलाई अगाडि बढाउने विषय मेरो एजेन्डा हुनेछन् ।
यो पनि