काठमाडौं । तीन दिने छैटौं तामाङ ज्ञान महोत्सव सम्पन्न भएको छ ।
महोत्सवको तेस्रो तथा अन्तिम दिन मंगलबार दुई फरक र अन्त्यन्तै महत्वपूर्ण विषयमा प्यानल डिस्कसन भएको थियो । दुई सत्रमा विभाजन गरी गरिएको छलफलको पहिलो सत्रमा ‘नेपालका विश्वविद्यालयमा तामाङ अध्ययनको सम्भावना र चुनौती’ विषयमा छलफल गरिएको थियो । छलफलमा मानवशास्त्री मुक्तसिंह लामाले नेपालका विश्वविद्यालयमा तामाङ अध्ययनको बाधक विश्वविद्यालयका नेतृत्वमा रहेको पूर्वाग्रही सोचलाई औंल्याउनुभयो । लामाले विश्वविद्यालयहरु नेपालका आदिवासीहरुको अध्ययनका लागि छुट्टै विभाग गठन गरी तत्काल तयार नरहे पनि विद्यमान संरचनाभित्र पनि उनीहरुका सामाजिक, आर्थिक, सांस्कृतिक, मानवशास्त्रीय अध्ययनहरु सम्भव भएको र यसतर्फ अगाडि बढ्न ढिलाइ गर्न नहुने बताउनुभयो ।
त्रिभूव विश्वविद्यालय नेपाल भाषा केन्द्रीय विभागका प्रमुख ओमकारेश्वर श्रेष्ठले नेवार समुदायले चाहेको नेवा अध्ययन विभाग खडा गरियोस् भन्ने हो र त्यसका लागि प्रक्रिया अघि बढाइसके पनि विश्वविद्यालय त्यो नचाहिरहेको बताउनुभयो । हिमालयन एण्ड बुद्धिष्ट स्टडिजका अध्यक्ष रमेश ढुङ्गेलले लुम्बिनी विश्वविद्यालयले अहिले पनि हिमाली जाति समुदायको बारेको अध्ययन गरिरहेको बताउँदै विश्वविद्यालयहरु अहिलेको स्थितिमा स्रोत साधनको अभावले गर्दा सबै जाति समुदायको छुट्टा छुट्टै अध्ययन विभाग खडा गरेर अगाडि बढ्ने स्थिति नरहेको बताउँदै सबै समुदायको अध्ययन ‘अम्ब्रेला स्टडिज डिपार्टमेन्ट’ खडा गरेर अघि बढ्न सकिने बताउनुभयो ।
मगर लेखक संघका अध्यक्ष विष्णु सिंजाली मगरले विभिन्न मुलुकमा आदिवासी अध्ययनका लागि छुट्टै विश्वविद्यालय समेत स्थापन भएको तर नेपालमा भने विश्वविद्यालयहरु आदिवासी अध्ययन विभागसम्म खोल्न तयार नरहेको बताउँदै नेपालका विश्वविद्यालयका विद्यमान संरचना भित्र जहाँ जहाँ जति सम्भव छ आदिवासी अध्ययनका प्रक्रियाहरु अगाडि बढाउनु पर्ने जिकिर गर्नुभयो ।
प्यानल छलफलको दोस्रो सत्रमा ‘बागमती प्रदेशमा सरकारी कामकाजमा तामाङ भाषाको सम्भावना र अवसर’ विषयमा छलफल भएको थियो । छलफलमा भाषाशास्त्री अमृत योन्जन-तामाङले बागमती प्रदेशमा नेपाली पछि दोस्रो स्थानमा तामाङ भाषा रहेको उल्लेख गर्दै तामाङ भाषा यस प्रदेशको दोस्रो कामकाजी भाषा हुने निश्चित रहेको बताउनुभयो ।
छलफलमा बागमती प्रदेशका उपसभामुख राधीका तामाङ, भाषाशास्त्री तारामणी राई, बागमती प्रदेश सभाका सांसद् प्रेम तामाङ र दोर्जे मोक्तान, नेकपा (एमाले) बागमतीका सचेतक शान्ति थिङले प्यानालिष्टको रुपमा आ-आफ्नो विचार राख्नुभएको थियो ।
प्यानल छलफलको पहिलो सत्र वरिष्ठ पत्रकार कुमार यात्रुले सञ्चालन गरेका थिए भने दोस्रो सत्रको सञ्चालन नेपाल सरकारका उपसचिव एवं भाषा आयोगका सूचना अधिकृत लोकबहादुर लोप्चनले गर्नुभएको थियो ।
प्यानल छलफल पछि तामाङ डाजाङका अध्यक्ष फूलकुमार बम्जनको अध्यक्षतामा तीन दिने ज्ञान महोत्सवको औपचारिक समापन कार्यक्रम भएको थियो । महोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुनिष तामाङले ज्ञान महोत्सवको समिक्षात्मक टिप्पणी गर्नुभएको थियो भने सञ्चारकर्मी धन लामाले ज्ञान महोत्सवका सहयोगी, अतिथि, वक्ता, कार्यक्रम सञ्चालकलगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।