काठमाडौं । नेपाल तामाङ घेदुङ र नेवाः देय् दवूले संवैधानिक व्यवस्थाअनुसार मातृभाषामा शिक्षा लिन चाहने विद्यार्थीहरुको हक सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।
घेदुङ र नेवाः देय् दवूका प्रतिनिधिले सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई भेटेर माध्यमिक तह अर्थात् कक्षा ९ र १० मा मातृभाषाको विकल्पमा ऐच्छिक विषयका रुपमा गणित, कम्प्युटरजस्ता विषय समेटिएकाले मातृभाषा अध्ययन गर्न चाहने विद्यार्थी वञ्चित हुने भन्दै ध्यानाकर्षण गराएका हुन् । सिंहदरबारस्थित मन्त्रालयमा नेवाः दे दवुका अध्यक्ष पवित्र बज्रचार्यले बुझाउनुभएको ज्ञापनपत्र ग्रहण गर्नुहुँदै मन्त्री पौडेलले दवू र घेदुङले राखेको मागलाई कार्यान्वयन गराउन आफू प्रतिबद्ध रहेको आश्वासन दिनुभएको थियो ।
'दुई वटा ऐच्छिक विषय रहेका माध्यमिक तहमा एउटा ऐच्छिक विषय समूहमा नेपालका मातृभाषाहरु मात्र राखेर र अर्को ऐच्छिक विषय समूहमा गणित, कम्प्युटर जस्ता विषय राखिदिएमा सबै विद्यार्थीले मातृभाषा पनि पढ्न पाउने र आफ्नो व्यावसायिक जीवनका लागि इच्छानुसारको कम्प्युटर, लेखा, गणित आदि विषय पनि पढ्न पाउनेछ,' पत्रमा उल्लेख गरिएको छ ।
घेदुङका अध्यक्ष मोहन गोले र नेवा: देय् दवुका अध्यक्ष पवित्र बज्रचार्यले हस्ताक्षर गर्नुभएको ज्ञापनपत्र बुझाउन घेदुङका उपमहासचिव जगतमान लामा (दोङ), सचिव बिना माम्बा तामाङ, दवुका अन्य पदाधिकारीहरु मन्त्रालय पुग्नु भएको थियो ।
नेपालको संविधान (२०७२) को भाग ३ को मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३१ शिक्षासम्बन्धी हक र कर्तव्यको उपधारा ५ मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने हकको व्यवस्था गरेको छ ।