-चिजा तामाङ
२०६० साल चैत महिना पोखरा माटेपानीबाट बुबा एक्कासी हराउनु भयो । म त्यतिबेला अर्धभूमिगत रही पार्टीको गैरसैन्य गतिविधिहरुमा संलग्न थिएँ । बुबा निर्माण व्यवसायी हुनुहुन्थ्यो । खोजी गर्न थालेको करिब दुई हप्तापछि एक बिहान अचानक रामबजार प्रहरी चौकीबाट तस्बिर दिइएको व्यक्ति भेटिएको तर नाम ठेगाना भन्न नसकेकोले पहिचान गर्न आउनु भन्ने खबर आयो ।
आमा केही छिमेकीहरु लिएर चौकीतिर लाग्नुभयो । म घरमै थिएँ, लगभग एक घण्टापछि मलाई पनि चौकी आइहाल्नु भन्ने खबर आयो । बुबाले आमालाई नै चिन्न नसकेपछि सबैभन्दा नजिकको अनि माया गर्ने को छ उसलाई ल्याउनु, कतै चिनिहाल्छ कि भनि मलाई बोलाउन लगाइएको रहेछ । मैले 'बुबा' भनेर बोलाएपछि 'छोरी' भन्नुभयो । त्यसपछि बुबालाई अस्पताल पुर्याइयो ।
रामबजार चौकीले बुबालाई बेवारिसे भेट्टाइएको भनेका थिए । गण्डकी अस्पतालको रिपोर्टमा करेन्ट प्रयोग सहितको यातना उल्लेख थियो । संकटकालको समय, म सानै उमेरमा माओवादी गतिविधिमा सामेल भएको, मेरी आमा हाम्रो बाजेबज्यैको एक्ली सन्तान । बाजेबज्यै पनि नरहेको र हामी पोखरामा बसाइँसराई भएकाले कसैको साथसहयोग र छानबिन गर्ने गराउने सम्भव हुनसकेन । बुबामाथि के भएको थियो भन्ने कुरा बुबाबाहेकले भन्न सक्ने कुरा भएन ।
पछि थाहा पाए अनुसार बुवा साइकलमा घर फर्किदै गर्दा रातको साढे ९ बजेतिर अलि अँध्यारो गल्लिमा पुगेपछि एउटा जीप अगाडि रोकेर 'तँ माओवादी होइनस्र' भन्दै बुबालाई पिट्दै आँखामा कालोपट्टि बाँधेर लगिएको रहेछ । अन्धकार कोठामा यातना दिंदै राखिएको रहेछ। बुबाको अनुसार त्यो स्थान रानीपौवाको विजयपुर व्यारेक हो कि झैँ लाग्छ । हप्तौंपछि बुबालाई निर्दोष ठानेर छाडियो या मर्यो भन्ठानेर फ्याँकियो, जेहोस् बुबा जीउँदै भेट्टाइयो ।
त्यो घटनापछि बाबा सामान्य जीवनमा फर्किन सक्नु भएन र आमामाथि बुबाको जिम्मेवारी पनि थपियो । जेठो सन्तानको नाताले म माथि पनि जिम्मेवारी आयो । एसएलसी दिएपछि पार्टीको निर्णयमा मैले महेन्द्रपुलमा एक रास्ट्रिय दैनिकको शाखा अफिसमा जागिर सुरु गरे । त्यहाँबाट म पार्टीका लागि सुराकी गर्थें । त्यसरी पनि मैले संगठनका काम छाडिन । परिपक्व देखिन म सधै परम्परागत कुर्थासुरुवाल लगाउने गर्थें । शान्ति सम्झौता पछिको एकदशक मैले कुर्था लगाइन ।
पछिसम्म पनि 'म माओवादी होइँन, ऊ ! मलाई समात्न मान्छेहरु आउँदैछन्' भन्दै बुबा ढोका थुनेर लुक्न थाल्नुहुन्थ्यो । अहिले पनि केही दिन औषधी छुट्यो भने बुबा निदाउन सक्नुहुन्न । त्यो त बेसुरको कुरा भयो तर होशमा रहेको बेला पनि मैले बुबालाई तपाईंको छोरी माओवादी हो भन्ने हिम्मत जुटाउन केहि बर्ष लाग्यो ।
२०७९ भाद्र ५ गते सम्पन्न रास्ट्रिय भेलाले मलाई तेस्रो पटक वाइसीएल केन्द्रीय कमिटीमा चयन गरेको छ । पहिला बैठकले नियुक्त गरेको बेलामा बाबा काठमाडौंमै हुनुहुन्थ्यो र म चुनिएको खबर प्रत्यक्ष सुनाउँदा 'मैले केही गरिदिन सकिनँ छोरी ! हामिले केही जानेनौँ, तिमीले गर्यौ' भनेर रुनुभो । आमा र म पनि एकछिन स्तब्ध भयौं ।
आज बुबाको मुख हेर्ने दिन, म सङ्ग मेरो बुबा हुनुहुन्छ । तर १० बर्षे जनयुद्धमा म जस्ता कयौं छोराछोरीहरुले आफ्ना बुवा गुमाएका छन् । जनयुद्धको उद्घोष गर्ने हाम्रो पार्टी, जनताको प्यारो पार्टी नेकपा माओवादी केन्द्रको जिम्मेवार सदस्यको हैसियतले पनि म सम्पूर्ण घाईते, अपाङ्ग, बेपत्ता तथा सहिद परिवारहरुप्रति संवेदनशील बन्न पार्टी र सत्ता पक्षलाई आग्रह गर्दछु । यसका लागि आफूले पार्टी र सरकारलाई संधै घचघच्याइरहने प्रतिबद्धतासहित सम्पूर्ण सहिद परिवारका छोराछोरीहरुमा समवेदना प्रकट गर्दछु ।
(चिजा तामाङको फेसबुकबाट, उहाँ वाईसीएल नेपालको केन्द्रीय सदस्य हुनुहुन्छ)