काठमाडौं । वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले राज्यको संरक्षण नपाएको कारणले तामाङ समुदायको भाषा, संस्कार र संस्कृतिमा एकरुपता हुन नसकेको बताउनुभएको छ । नेपाल तामाङ मौलिक ह्वाइला न्हान (मौलिक गीतको चौतारी) संस्थाको उद्घाटन कार्यक्रममा शनिबार उपसभामुख तामाङले आफ्नो समुदायको भाषा, संस्कार, संस्कृति हरेक क्षेत्रमा फरक-फरक हुनुको पछाडिको कारण राज्यको उपेक्षा रहेको बताउनुभएको हो ।
अन्य जातिको जस्तै तामाङको पनि इतिहास, भाषा, संस्कृतिलाई राज्यले किताब छापेर पढाउने र पढ्न पाएको भए तामाङहरुमा पनि एकरुपता आउने र यो वा त्यो भनेर बहस यतिबेला जरुरी नहुने उहाँको भनाइ थियो । उपसभामुख तामाङले तामाङ समुदायले गाउने गीतहरुमा जन्मदेखि मृत्युसम्मका संस्कार जोडिएको भन्दै त्यसमा रहेका विविधताहरुलाई छलफल बहसमार्फत एकरुपतामा ल्याएर संस्थागत गर्ने र पुस्तान्तरण गर्नु पर्ने सुझाव दिनुभयो । 'ढिलै भए पनि हामी बहस गरिरहेका छौं तर तामाङहरु बहसदेखि बहससम्म मात्र रुमलिनु हुँदैन', उपसभामुख तामाङले भन्नुभयो, 'बहसबाट निष्कर्ष निकाल्नेतिर हामी जान जरुरी छ ।'
म्हेन्दोमाया, साइकोले, फापरे खान्दोके जस्तै रसुवातिरका तामाङले टुंना बजाएर गाउने गीतलाई पनि समेटेर तामाङ मौलिक गीतको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने उहाँको भनाइ थियो । तामाङ मौलिक गीतका गायक गायिकाहरुको पहलमा केही समय अगाडि स्थापना भएको नेपाल तामाङ मौलिक ह्वाइला न्हान शनिबार बौद्धस्थित तामाङ घेदुङको सभाहलमा उपसभामुख राधिका तामाङले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा पहिलो पटक तामाङ भाषाको गीत रेकर्डिङ गरी रेडियो नेपालमा गाउने चन्द्रकुमार मोक्तानले त्यतिबेला तामाङ गीत गाउने गायिका नपाएर अरु जातिको खोजेर गीत रेकर्ड गर्नुपरेको पीडा सुनाउनुभयो । गीत रेकर्ड गर्न र बजाउन पनि शब्दको अर्थ बुझाएर अनुमति लिनुपर्ने हुँदा झुक्क्याएर एउटा गीत छिराएको गायक मोक्तानले बताउनुभयो । विभेदको विरोध गर्ने र प्रगतिशील गीत गाउन अनुमति नभएकोले 'सुनमी चाजी म्हे मामा मालीसे, नाम्सा चाजी नाना नाम्साला जालीसे' भन्ने गीतको अर्थ अर्कै भनेर छिराएको उहाँले बताउनुभयो ।
वरिष्ठ गायक चन्द्रकुमार दोङले आफूले तामाङ गीतहरु गाउँदा ज्यान मार्ने धम्कीहरुसम्म खेप्नु परेको स्मरण गर्दै तामाङ मौलिक गीतको प्रवर्द्धनका लागि संस्था स्थापना भएको सुन्दा मनैदेखि खुसी लागेको बताउनुभयो । अर्का गायक तथा संगीतकार रोज मोक्तानले तामाङ मौलिक गीतलाई 'फापरे गीत' भनेर बिगार्न नहुने विचार व्यक्त गर्नुभयो । दस पाथी फापर पिस्दा पाँच माना पिठो हुने जस्तो भनेर फापरे गीत भएको भनी मौलिक गीतको अपमान भएको भन्दै मोक्तानले मौलिक गीत भन्नु नै उचित हुने बताउनुभयो ।
कार्यक्रममा भाषाविद् अमृत योन्जन, नेपाल तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङ, तामाङ कलाकार संघका अध्यक्ष सञ्जीव वाइबा, तामाङ डाजाङका अध्यक्ष तथा गायक फूलकुमार बम्जन, समाजसेवाी तथा एमाले नेता इन्द्र तामाङ, संस्कृति घेदुङका अध्यक्ष छेवाङ तेन्जिङ तामाङ, गायक सेरप रुम्बा, ताम्बा घेदुङका अध्यक्ष पासाङ मोक्तानलगायतले तामाङ मौलिक गीतको चर्चा गर्दै नयाँ संस्थाको प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
तामाङ मौलिक गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मौलिक ह्वाइला न्हान संस्था स्थापना गरेको संस्थाका उपाध्यक्ष संजीव तामाङ 'पोङदिला च्याङबा'ले बताउनुभयो । नवगठित संस्थाका अध्यक्षमा सुनिताकुमारी तामाङ, उपाध्यक्ष पोङदिला च्याङ्बा, सचिव ज्ञानबहादुर तामाङ, कोषाध्यक्ष मिम तामाङ 'रोशीला च्याङ्बा' हुनुहुन्छ ।
सदस्यहरुमा कमानसिं तामाङ, सानु तामाङ, मसिनी घिसिङ, सानुमाया योन्जन, सपना वाइबा, अम्बर मोक्तान र राज दोङ रहनुभएको छ । त्यसैगरी संस्थाको प्रमुख सल्लाहकारमा कमानसिं दोङ रहनुभएको छ ।