काठमाडौं । नेपाली साहित्यको 'वातावरणीय साहित्यलेखन' अभियानका क्षेत्रमा आफ्ना दमदार कविता, निबन्ध र कथा पस्कँदै आउनुभएका साहित्यकार विजय हितानको नवीनतम् कथासंग्रह 'ब्लु प्लानेट' बजारमा आएको छ । यस कथासंग्रहमा हितानद्वारा सिर्जित १५ वटा कथा सङ्गृहित छन् ।
हितानले पृथक् तर अति संवेदनशील विषय वातावरणका तमाम पक्षलाई कथाका माध्यमबाट सूक्ष्म तरिकाले उधिनेर तिनमा सजीवता प्रदान गर्नुभएको छ । तिनले जलवायु परिवर्तन, जैविक विविधता, वन्यजन्तु चोरीसिकारी, बाढीपहिरो, जल तथा वायु प्रदूषण, वातावरण संरक्षण अभियान, विश्वव्यापी तापक्रम बृद्धिजस्ता विषयवस्तुलाई समेटेका छन् ।
कथासंग्रहमा नेपालमा पहिलो पल्ट परिवृतीय साहित्यलाई आफ्नो ‘उत्तर आधुनिक विमर्श’पुस्तकमा सिद्धान्तीकरण गरेका प्रा. डा. गोविन्दराज भट्टराईको भूमिका रहेको छ । वातावरण विज्ञानमा स्नातकोत्तर गरी वातावरण संरक्षण निकायमा काम गर्दै आउनुभएका हितानको यो कथासंग्रहलाई फिनिक्स बुक्सले प्रकाशनमा ल्याएको हो ।
‘ब्रह्माण्डको निलो ग्रह यस पृथ्वीमा पर्यावरण सन्तुलन, वातावरण संरक्षण र प्राणी–वनस्पतिबीचको प्राकृतिक चक्र नियमित गर्न सक्रिय हितान पर्या लेखन अर्थात् ‘इको राइटिङ’का अथक् योद्धा हुन्’, भनेर प्रकाशकद्वारा आफ्नो प्रकाशकीयमा लेखिएको छ ।
कथाकार हितानका अनुसार आजसम्मका हाम्रा प्राय: सबै साहित्यिक सिर्जनाहरू मानवकेन्द्रित छन् । मानवीय अतिक्रमणमा परेर पृथ्वीको पर्यावरण असन्तुलित बन्दै गइरहेको छ । तर विडम्बना, मानवीय सभ्यता नै धरापमा पर्न सक्ने यस्तो जटिल समस्याबाट हामी अनभिज्ञ छौं । यसर्थ अब हाम्रा साहित्यिक सिर्जनाहरू यस जगतको पर्यावरणीय संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न चेतना र हौसला प्रदान गर्नेतिर उन्मुख हुन आवश्यक छ ।
गत एक दशकभन्दा बढी पर्यावरण साहित्यलाई नेपाली मूलधारको साहित्यमा भित्र्याउने अभियानमा खटिएका हितानको यो आठौं साहित्यिक कृति हो । यसअघि उहाँका थकित पृथ्वी, इको उत्सर्जन, वाग्मती ब्लुज, स्वच्छन्द सुसेलीहरूजस्ता कथा, निबन्ध र कविताकृतिहरू प्रकाशन भइसकेका छन् ।