नेपाल आर्मीमा हुनेहरू सबै एकपल्ट शान्ति सेना जान चाहन्थे, मेरो बाबाले पनि कोसिस गरेको निकै भइसकेको थियो | माथिल्लो दर्जामा आफ्नो मान्छे हुने अथवा जसले मोलमाल गर्न जान्दछ । उनीहरूको नाम छिट्टो निस्कँन्थ्यो, मेरो बाबा सोझो लिम्बु, दायाँबायाँ केही गर्न नजान्ने र ठूलो पदमा आफ्नो मान्छे पनि नभएकोले जहिल्यै फालिनुपर्थ्यो | मैले धेरैपल्ट महसुस गरेकी थिएँ, बाबालाई शान्ति सेनाको लागि दौडमा सामेल गराउँथें पल्टनले, दौड हाम्रै क्वार्टर अगाडिको रोडमा हुन्थ्यो । हामी सबै निस्केर रमिता हेर्थ्यौं । गेट अगाडिदेखि मिर्चैया चोकसम्म दौडनुपर्थ्यो बाबा र उहाँ साथीहरू । हामी सबैले देख्थ्यौं बाबा जहिल्यै पहिलो हुनुहुन्थ्यो दौडमा | बाबा आफै पनि भन्नुहुन्थ्यो अरुमा नभए पनि दौडमा मलाई कसैले भेट्दैनन् | तर अरु केमा कम देख्थे कुन्नी बाबालाई जहिल्यै फाल्थे अन्त्यमा | धेरै बन्दी चल्छ सरकारी जागिरमा भनेर बाबा चित्त दुखाउनुहुन्थ्यो | यस्तैगरी, लामो समयसम्म बाबाले जानु पाउनुभएन लेबनान शान्ति सेनामा । शान्ति सेना नपुगी पेन्सन निस्कन परे जीवनमा केही नहुने गुनासो गर्नुहुन्थ्यो आमासँग |
मलाई पनि दु:ख लाग्थ्यो आमा बाबाको कुरो सुन्दा | बाबाको तलब खान पनि पुग्दैनथ्यो, आमाले पैकार नगर्ने भए हामीलाई समस्या नै थियो | हरेक ६-६ महिनामा शान्ति सेना जाने पालो आउँथ्यो | छानीछानी पल्टनले मान्छे पठाउँथ्यो । एकपल्ट शान्ति सेना जाने टोली तयार भइसकेको थियो | अचानक श्रीजंग गुल्मबाट टेकबहादुर लिम्बुलाई पनि पठाउनु चारखाल भन्ने खबर आएछ | को होला टेकबहादुरलाई उतै हेड अफिसबाटै बोलाउने ? भनेर ब्यारेकमा तहल्का मच्चिएछ, कसले बोलाएको बाबा स्वयंलाई थाहा थिएन रे ! केहीदिनपछि बाबा जानु भो चारखाल । हाम्रो वरिपरिका अंकलहरू सबै पहिल्यै शान्ति सेना गएर आइसकेका थिए | उनीहरूको छोराछोरीहरू रमाएजस्तै रमाउने पालो हाम्रो पनि आयो । हामी पनि रमायौं | जानुभन्दा अघिल्लो रात बाबा र आमा बात मारेको सुनें, बाबालाई फत्तेबहादुर बाजेले बोलाउनुभएको रहेछ | उहाँ आमाको मावलीतर्फबाट आफन्त पर्नुहुन्छ भन्ने सुनेकी थिएँ | त्यसबेला उहाँ ब्रिगेडियर जनरल हुनुहुन्थ्यो |
म धरानबाट अर्ध वार्षिक परीक्षा सकेर गर्मी महिनाको छुट्टीमा सिरहा आएकी थिएँ | बाबा चारखाल जानु भो, उहाँहरूलाई लेबनान लैजानु अघि त्यहाँ ३ महिना तालिम गराउने रहेछन् | कुमारीको आमा अब तिम्रो बुढो जम्बो जेटमा उड्ने भो कहाँ चानचुने कुरा हो र ? चिन्ता नगर । उड्नुअघि १५ दिनको छुट्टी दिन्छन् । त्यही बेला आउँला भन्नुभो बाबाले । म त्यो कल्पनाको जम्बो जेटमा चढेर बाबाभन्दा पहिल्यै उड्दै थिएँ, अब चाडबाड आउने बेला भो । हुर्केकी छोरी धरान मसिनो नानीहरूसँग म एक्लैले के गर्ने हो ? भन्दै आमा रुन पो थाल्नु भो | त्यसपछि कल्पनाको जम्बो जेट चढेर उड्दै गरेकी म, आमाको आँसु देखेर गन्तव्य पुग्नुअघि अवतरण भएँ । कल्पनाको जम्बो जेटबाट भर्खरै अवतरित मेरो मन अनायासै आमाको आँसुको भंगालोमा तैरिन थाल्यो । लाग्यो ! बेकारमा म पढ्न धरान गएछु । तर तत्काल भन्न सकिनँ केही पनि । बरु, बाबाले नै किन चिन्ता गर्छौ कुमारी आमा, छरछिमेकी छन्, जम्मा ६ महिना त हो, म आइहाल्छु नि भनेर आमाको अशान्त मनलाई शान्त पार्नु भो | आमाको आँखाबाट झरी वर्षा थामिएपछि, मेरो मनमा उर्लिएका बेमौसमी भंगालोहरू पनि थामिए अनि सबैले मिलेर हाँस्दै खाना खाएर सर्प र बिच्छीले नभेट्ने गरी टाँगिएका अग्लाअग्ला खटियाहरूमा चढेर सुत्यौं ।
बाबा लेबनान् जाँदा म कक्षा ९ को अर्धवार्षिक परीक्षा सकेर गर्मी महिनाको छुट्टीमा थिएँ | छुट्टीमा हुँदा म मस्त घुम्थें सिरहा बजार, मिर्चैया, कटारी, लाहान आदि ठाउँहरू | आमाले पनि दुई/चार दिन आएको घुमोस भनेर होला केही भन्नुहुन्नथ्यो | आमा जहाँ बस्यो त्यहाँ आफन्त हुन्थे, त्यस्तै आमा पहिलोपल्ट सिरहा फेमली बस्दा तल सारश्वर बजारमा कुमुद दाइहरूको घरमा बस्नु भएको रहेछ | कुमुद दाइको आमा, बज्यैहरूको कुरो गरिरहनुहुन्थ्यो | आमाको कुरो सुनेर म त्यहाँ गएँ, कुमुद दाइ आमाले भनेजस्तै ट्यालेन्ट केटा रहेछ | पढाइमा एकदम तेज, मिलनसार | अनुशासित परिवार, कुमुद दाइसँग घुम्न गोरुगाडामा चढेर सिरहा बजार गएँ । सिरहाको लस्सी र गुल्फी सारै मीठो । ती चिजहरूको स्वाद अझै मेरो जिब्रैमा झुण्डिएका छन् | फर्कने दिन बिहान कमला नदी किनार घुम्न गयौं, त्यहाँ कुमुद दाइहरूको बारी रहेछ । बलौटे माटोमा खर्बुजा र भैंसीको सिङजस्ता लामा-लामा बटारिएका तराईका काँक्रा कम्ता फालेका थिएनन् |
तराईमा त्यस काँक्रालाई खिर्हा भन्दा रहेछन् | एक झोला खिर्हा र दुई वटा ठुल्ठूला खर्बुजा कोसेली बोकेर चोहर्बा आएँ, मलाई कुमुद दाइले बजारसम्म पुर्याएर बसमा चढाइदिनुभो | त्यसपछि दाइसँग फेसबुक र मोबाइल नभएकोले फेरि भेट भएन | बाल्यकालमा थर सोध्ने दिमाग पनि आएन, अहिले कुमुद भनेर सर्च गर्दा कति हो कति कुमुद निस्कन्छन् । मैले सानोमा भेटेको । मलाई माया गर्ने मेरो कुमुद दाइ कुन हो ? मलाई नै थाहा छैन | दाइहरू वाहुन हो भन्नेमात्र थाहा छ, थर थाहा भएन ।
हप्तादिनको छुट्टी पाउँदा पनि दौडेर आउँथें सिरहा । तर, बाबा शान्ति सेना गएपछि आमा र भाइहरू एक्लै भए भनेर आवतजावत अलिक बाक्लिएको थियो | मैले सिरहा आएपछि आमा अलिक मोट्टाएको हो कि जस्तो महसुस गरें | सोध्नचाहिँ सकिनँ । तर चन्चला फूपुले भन्नुभो आमा त दुईज्युकी पो हुनु भएको रे, अचम्म लाग्यो किनकि हामी सबै हुर्किसकेका थियौं | कान्छा भाइ त ६ वर्षको थियो, आमा पहिलेजस्तो छिटोछरितो काम गर्न नसक्ने हुनुभएको रहेछ । मलाई आमाको सारै माया लाग्यो तर पढाई छाड्न पनि सकिन र धरान फर्कें |
ठूलो भाइ ब्यारेकमै थियो, ऊ नजिक भएकोले आमा र भाइहरू उसैले हेर्थ्यो | भाइ भर्ती लागेपछि आमाले पनि जाँडरक्सी पार्न कम गर्नु भएको थियो | तलब कति थाप्थ्यो थाहा भएन तर हरेक तलबबाट मलाई १५० रुपैयाँ दिन्थ्यो भाइले। मैले ९ र १० उसैको तलबले पढें | भाइले पैसा दिँदा म धेरै भावुक हुन्थेँ, लाग्थ्यो ऊ भन्दा ठुली भएर पनि भाइको पैसाले पढ्दै छु ।
बाबा जम्बो जेट चढेर लेबनान् पुगेको खबर पाएर हामी खुसी त थियौं, तर ड्युटी गर्ने ठाउँमा लडाइँ भइरहन्छ रे भन्ने सुन्दा चिन्ताले सीमा नाग्थ्यो | बाबाभन्दा अघिल्लो टोलीमा जाने दुईजना बम र चक्र नाम गरेका नेपाल आर्मीका जवानहरू एकै ठाउँमा बमले उडायो रे अनि उनीहरू मरेको त्यस ठाउँमा बम-चक्र भनि साइन बोर्ड पनि राखिएको छ रे भन्ने सुन्थ्यौं । विचरा ! मान्छेको जीवन कहाँको जन्म कहाँको मरण, सम्झिंदा पनि उराठलाग्ने | आमा सबेरै उठेर सूर्य भगवान्लाई पानी चढाउँदै बाबाको दीर्घायूको कामना गर्नुहुन्थ्यो | आमाको प्रार्थना पनि सही लाग्यो मलाई, किनकि घाम त एउटै मात्र त छ नि जसले एक्लै संसारलाई घुम्न सक्छ | दु:ख पर्दा ईश्वर सम्झिने । म पनि मनमनै हे भगवान् मेरो बाबाको रक्षा गर भन्थें | त्यस्तै खतरा ठाउँ भएर हो कि ! शान्ति सेना ६ महिनामात्र बस्न पाउँथे नेपाल आर्मीहरू, तर पालैपालो गइरहन्थे |
बडाकोमा पहाडबाट ठूलो भेना फुपा बिमारी भएर क्याम्पमा उपचार गर्न ल्याएका थिए | बिमारी कुरुवा र बिमारीको लागि पनि खाना बनाउनुपर्थ्यो । दिदीको घर र बडाको घरमा केही फरक थिएन काम उस्तैगरि गर्नुपर्थ्यो तर दिदीजस्तो बढी कराउँदैनथ्यो | भाइ बहिनीहरू बोर्डिङ्ग पढ्थे, उनीहरूको लुगा धुने, स्कूल पोसाकमा आइरन लाउने टिफिन प्याक गर्ने, टाई बनाउने, उनीहरूलाई तयार गर्ने आदि काम एक जनाले गर्थ्यौं, एक जनाले खाना बनाउन्थ्यौं | पाहुना र नानीहरू त भइहाले अझ सुँगुर पनि पाल्नुहुन्थ्यो । त्यो पनि एउटा होइन ३, ३ वटा, सुँगुरको चारो मात्र ठुल्ठूलो ३ बाल्टिन ओसार्नुपर्थ्यो हरेक बिहान-बेलुका | तर प्रमिला र म दुवै एकदम समय मिलाएर काम गर्न सक्ने भएकोले जति कठिन पनि सजिलै सकेर स्कुल समयमै जान्थ्यौं |
मैले फिदिमको होटल र आमाबाट सिकेको जाँडरक्सी बनाउने काम बडाको घरमा पनि काम लाग्यो | सुँगुरको चारो र पाहुनापातको लागि जाँड पकाइरहनुपर्थ्यो, रक्सी उस्तै पार्नु पर्ने | जाँडरक्सी गर्ने दिन प्रमिला खाना बनाउथिन्, म रक्सी भट्टी र सुँगुर सम्हाल्थे | बडी बिहान एक बेलुकी एक तोङ्ग्बा पिउनुहुन्थ्यो, तोङ्बासँग आलु या अन्य जे भए पनि नुनिलो तरकारी चाहिन्थ्यो | हामी दुईजना स्कुले केटीहरूले पुरै घर, खेती, पाहुनापात र भाइबहिनी सम्हालेका थियौं | अहिले सम्झिँदा लाग्छ मन मिले पहाड पनि फोरिँदोरहेछ | हामी सारै मिलेर काम गर्थ्यौं |
बडाहरूको घर त्यतिबेला पहिल्यै किनेको सानो एकतले थियो, चौकाचाँहि छुट्टै पछाडिको आँगनमा पानी ट्यांकीसँग जोडिएको थियो । त्यसबेला दाउरामा खाना बनाउनुपर्थ्यो । ग्यासको चलन आएको थिएन | पाहुना हुँदा सरकारी धाराको पानीले नपुगेर पानी भर्न घोपा क्याम्प छेउको खोल्सी धारा पुग्थ्यौं | मलाई सानैदेखि ठुल्ठूलो गाग्री कम्मरमा बोक्ने आदतै भइसकेको थियो | धरान आएर पनि त्यसैगरी पानी बोकियो | दाउरा घाँस खोज्न र पानी बोक्नचाहिँ प्रमिलाभन्दा धेरै मै जान्थें | भाइबहिनीहरूलाई चाँडै स्कुल पठाएर हामी कराही र भाँडामा भात सोहोरी खाएर स्कुल जान्थ्यौं | कराही चाट्ने आदत नै बसिसकेको थियो मलाई | बिमारी फुपाजु पनि भात खान्छु भन्थ्यो । मैले कराही सोहोरी-सोहोरी भात खाएको देख्दा | जे पनि मीठो मानेर खाने मेरो आदत अझैसम्म गएको छैन |
बडी ढुक्कको हुनुहुन्थ्यो, हामीले जे पकाए पनि, जे दिए पनि चुपचाप खाने हाम्रो कामलाई कहिल्यै नराम्रो नभन्ने, काम नगरे पनि किन गरिनस नभन्ने एकदम सुभानी पाराको | तालाचाबी हाम्रै हातमा हुन्थ्यो | पैसा चाहिएको बेला दराजको चाबी झुप्पै दिएर निकाल भन्नुहुन्थ्यो | एकदिन भाइबहिनीहरू स्कुल जानेबेला टिफिनको लागि पैसा झिकेर ले भन्नुभो । मैले दराज खोलेर पैसा झिक्दै थिएँ त्यस दराजभित्र मेरो कान्छी छेमाको ठूलो फ्रेमभित्र सजाएर राखिएको फोटो देखें | त्यस फोटोमा छेमासँग मेरो लिङ्ग्खिमको ठूली फुपू पनि उभिएकी थिइन्, कुनैबेला सोल्टिनी सोल्टिनी मिलेर फोटो खिचेका रहेछन् | छेमा र फुपू दुवै जनाले शिरबन्दी, कण्ठ र ढुंग्री, बुलाकी लगाएका थिए | मलाई मेरो कान्छी छेमाको त्यो फोटो सारै माया लाग्यो, तुम्मालाई त भनिनँ । पछि तुम्बा ब्रुनाईबाट आएको बेला मैले त्यस फोटोको प्रसंग झिकें | तुम्बा मुसुमुसु हाँस्नु भो । तुम्माले तुम्बाको जेठी बूढी हो सम्झनाको लागि राखेको नि ! तेरो छेमाको फोटो भन्नुभो | त्यो फोटो म लान्छु भन्न सकिनँ । माग्ने विचार त आएको थियो, तर मागे पनि दिने थिएनन् सायद | सुनेकी थिएँ चेलीहरूको कुरो सुनेर छेमालाई सौता हालेकोमा तुम्बा धेरै पछुताउनुभएको थियो रे |
हामीलाई कामको दु:ख भए पनि खान बस्न दु:ख थिएन बडाको घरमा | प्रमिला र म एउटै स्कुल जाने भएर होला मन पनि मिल्थ्यो, बल पनि मिल्थ्यो | त्यसबेला मंगल काकाले बरगाक्षीमा भर्खर साइकल दोकान खोल्नुभएको थियो । मंगल काका प्रमिलाको आफ्नै कान्छा मामा ! उहाँहरूको पुर्ख्यौली गाउँ ईखाबु हाल बसोबास आसाम, उत्तर हाङ्ग बडाको मन्तरे काकाको कान्छा छोरा मंगल काका र उहाँको भान्जी थिइन् प्रमिला | काकालाई खाना हट केसमा राखिदिएर हामी स्कुल जान्थ्यौं, काका खाना सारै मज्जाले चापाएर खाने भएर होला भातमा जहिल्यै ढुंगा भेट्ने | चामल राम्रो केलाउँदैनौं भनि गाली गर्नुहुन्थ्यो | हामी सुनेर पनि नसुनेझैं गर्थ्यौं, किनकि हामीलाई चामल केलाई बस्ने फुर्सद नै कहाँ पो थियो र ?
एकदिन सबेरै ठूलो भाइ धरान आइपुग्यो, म स्कुल जानलाई हतार । खाना बनाउँदै थिएँ | अचानक भाइ देखेर अक्क न बक्क भएँ । किन आईस, के भो ? भनेर सोधें | दिदी आमा बिमारी भएर लाहान अस्पतालमा हुनुहुन्छ हिजोदेखि, घरमा भाइहरू मात्र छन् | भाइको कुरो सुनेर नौनाडी गलेर आयो हतारहतार खाना खाएर हामी सिरहा दौडियौं |
हामी अस्पताल पुग्दा आमा सानी बहिनीसँग सुतिरहनुभएको थियो | म मुनि पाँच भाइ अनि बहिनी जन्मिँदा सारै खुशी लाग्यो | तर,आमा निकै कमजोर हुनु भएको थियो, उमेर गएपछि पहिले जस्तो तागत पनि पो कहाँ हुन्छ र ? दुईदिन राखेर आमालाई घर लग्यौं | सानोको चकचके मेरो भाइ बुझाकी भइसकेका थिए । अस्पतालको बिलहरू सबै उसैले तिर्यो | सुत्केरी आमालाई गाडी रिजर्भ गरेर लैजाने पैसा पनि थिएन र दिमाग पनि थिएन | बसमै लिएर गयौं, आमा बिचरा ! बल्ल बल्ल डेरा पुग्नुभो |
२०४६ सालको कान्छी बहिनी, आमा त्यसबेला ३८ वर्षको हुनुहुन्थ्यो | ३८ वर्षको उमेरमा ६ जनाको आमा भइसक्नु भएको थियो | आमालाई सबैभन्दा धेरै दु:ख फिदिममा बितेको भाइ पाउँदा भएको थियो | आमालाई कान्छी बहिनी हुर्काउन धेरै संघर्ष गर्नु परेको थियो, किनकि बहिनी ७ महिनामै जन्मेकोले अवस्था एकदम क्रिटिकल थियो | कपडामा राख्दा जम्मै टाँसिन्थ्यो, नानीलाई सुताउने पातलो प्लास्टिकको ओछ्यान दिएको थियो अस्पतालले, त्यसैमा सुताउँन्थ्यौं | छुनै डरलाग्ने भित्री आन्द्रासमेत बाहिरैबाट देखिन्थ्यो बहिनीको |
हामी सबै हुर्किसकेकाले फेरि बच्चा नपाउने सोंच आमाको रहेछ | बहिनी पेटमा आएको थाहा पाउनासात अतालिएर औषधि सेवन गर्नु भएछ त्यसैले बहिनी चाडै जन्मेको भन्नुहुन्थ्यो | बस्न त मन थियो तर पढाई छुटिसकेकोले २ हप्ता जति आमालाई स्याहारेर धरान फिरें म | धरान पुग्दा बडीले, आमा के बिमार हुनुभो ? भनि सोध्नु भो | मैले त्यत्तिकै कमजोरीको कारणले थला पर्नु भएछ भनिदिएँ | समय बित्दै गए, शान्ति सेना सकेर बाबा आउनुभो | बाबा आएपछि आमा र कान्छी बहिनीलाई पनि धरान लिएर आउनु भो, त्यसबेला आमासँग बहिनी देखेर बडीले कसको नानी हो भनि सोध्नु भो, बाबाले मुख छोप्दै मेरो नातिनी नि ! भन्नुभो आमा बेस्सरी हाँस्दै मेरो छोरी नि दिदी भन्नुभो । बल्ल अस्ति कुमारी आउँदा जन्मेको हो ? भन्नु भो, आमाले हो नि भन्नु भएपछि मेरो झुटको पोल खोलियो | लु हेर यो केटीले नभनेको ? हामी सुत्केरी हेर्न आउने थियौं नि ? भन्नुभो बडीले | म चुपचाप छेउमा उभिरहें, मलाई किन हो कुन्नि आमा सुत्केरी हुनुभो भन्न अप्ठ्यारो लाग्यो र झुट बोलें |
बाबाले सेतो रंगको भूइँमा तिरिप्प तिरिप्प बुट्टा भएको सारीको रोल नै लिएर आउनुभएको थियो | मैले हेर्दाहेर्दै सबैलाई एउटा-एउटा सारी काट्दै बाँड्नु भो, म हेरेको हेर्यै भएँ किनकि म त्यत्रो वर्ष बडाको घर बस्दा खानु, बस्नबाहेक लताकपडा पाएकी थिइनँ | बडा ब्रुनाईबाट आउँदा पनि एउटा नयाँ लुंगी लाएको सम्झना छैन | तर मेरो बाबा भने ६ महिना लेबनान बसेर आउँदा सारीको रोल नै बोकेर आएर काट्दै बाँड्ने ? मेरो बाबा कति मनकारी ?
यतिमात्र कहाँ हो र ? जेठी फुपू र कान्छी फुपूलाई गाउँसम्मै १,१ तोला सुन र १०,१० हजार पैसा पुर्याउन जानुभएको भूलेकी छुइनँ | आमाले पनि कुनै रोकतोक गर्नुहुन्नथ्यो | बाबाको यस्तै अरुलाई दिने आदतले गर्दा खासै पैसा बाँकी रहेन | तैपनि बाबा आमाले कुनै गुनासो गरेको सुनिनँ | अरुलाई बाँड्ने आदत कहिल्यै बद्लिएन आमा बाबाको, पेन्सन थापेर घर आउनुअघि चोकमा बियर किनेर जम्मै अग्रजहरूलाई खुवाएर बाँकी रहेको मात्र घर ल्याउँथे भन्नुहुन्थ्यो आमाले | बाबा आमाको धर्म सायद पछि छोरा नातिहरूलाई लाग्ला कि ?