अघिल्लो दिन शनिबार फ्रान्स घुमेर राति अबेरमात्र लुभेन घर आइपुगेका हामीलाई अझै पूरै आरामको अनुभव भइसकेको थिएन । तर, भाइ र बुहारीको छुट्टी शनिबार र आइतबारमात्र हुने । त्यसैले, थकान बिचोबिच पनि सन् २०१७ नोभेम्बर १९ तारिख आइतबार, जर्मनको सातौं ठूलो सहर डुसल—ड्राब घुम्न निस्कियौं ।
बाहिर चिसो थियो । तयार हुँदाहुँदै खाजा खान पनि भ्याइएन । भोलि स्कुल छ आराम गर्छौं भनेर भदाहरू यो पटक पनि हिँड्न मानेनन् । ठीकै भयो, घर उनीहरुको जिम्मामा भयो ।
‘बेल्जियम त धेरै पटक आइसकियो तर पनि मन अझै अघाउँदैन ।’
ढोका छेउमा बसेर बुट घुसार्दै थिएँ म ।
‘माइती हो नि फुपू प्यारो भैहाल्छ नि ! होइन मम्मी ?’
सानो भदै रिजेन्सले म र बुहारी दुवैलाई गिज्यायो । ठट्टै सही, मम्मी र फुपूजस्ता छोरीमान्छेलाई माइतीघर प्यारो हुने सत्य उसले ओकल्यो ।
‘हो नि मेरो कालु भदै, कत्ति ज्ञानी ! लु यस्तो कुरो जानी राख्नुपर्छ अनि जहाँ बसे पनि आफ्नो नेपाली भाषा भुल्नुहुन्न, है ?’
अचेल विदेशमा नेपालीलाई सन्ततिले मातृभाषा भुल्लान् भन्ने एउटै साझा चिन्ता छ । त्यही चिन्ता मेरो मुखबाट पनि फुत्कियो ।
‘हस् फुपू ।’ उसले टाउको हल्लायो ।
भाइले गाडीमा पिउने पानी, कोक अनि केही खानेकुरा भारी हालिसकेर हामीलाई कुरिरहेको थियो । सप्ताहन्त । सुनसान थिए युरोपका बाटा । हामी वरिपरिका साइनबोर्ड हेर्दै चिल्ला—फराकिलो रोडमा सुइँकिन थाल्यौं ।
गाईले भर्खर ब्याएर चाटेको बाछाजस्तै युरोपका बाटा साँच्चिकै चिल्ला छन् । सररर गुड्नलाई गज्जब लाग्छ । यहाँ बेलायतजस्तो दुर्घटना र ट्राफिक जाम पनि त्यती हुँदैन रहेछ ।
अघिल्लो दिन फ्रान्स जाँदा पूर्व बेल्जियमको राजधानी ब्रसेल्स हुँदै गएका थियौं । आज भने पश्चिमतिर लाग्यौं । युरोपमा ड्राइभर र रोड साइड लेफ्ट हुन्छ । यो देखेर मलाई सुरुसुरुमा साह्रै अनौठो लाग्थ्यो । अहिले हल्का बानी पर्दै गएको छ ।
भाइ गाडी हाँकिरहेको थियो, उसँगै अगाडि सिटमा विजयजी हुनुहुन्थ्यो । बुहारी र म पछाडिको सिटमा ।
‘दिदी स्टेला बियरको फ्याक्ट्री, हेर्नुस् है ऊ पर ...’ भाइले देखाउँदै गर्दा हामी त्यसकै बिल्डिङ छेउ पुगिसकेका थियौं । भित्तामा स्टेला अड्ढित ठूलो साइनबोर्ड देखियो । ‘अनि यो स्टेला बियर त बेलायतमा पो देख्छु, फ्याक्ट्री चाहिँ यहाँ पो ?’ मैले भनें । ‘ऊँ, बियर त यहाँ नि पाउँदैन । विशेष बेलायतकै लागि हो’ भाइले भन्यो ।
लेबर चार्ज सस्तो पर्नाले कि किन होला ठुल्ठूला फ्याक्ट्री तथा उद्योग प्रायः बाहिरै हुन्छन् । जस्तै धेरै मोबाइलको फिटिङ चाइनामा हुन्छ । एक छिन मन खेल्यो तर यस्तो औद्योगिक रणनीतिबारे मैले के जान्नु ?
फ्याक्ट्री पार गरेर हामी अघि बढ्यौं । रमाइलो बाटो । जताततै हरियो खुल्ला चउर । युरोपीयन धुवाँधूलोबाट एकदम टाढा अर्गानिक चिजमा रमाउन चाहन्छन् । यहाँको प्राकृतिक सुन्दरता बयान गरी साध्य थिएन । खुल्ला नीलो आकाश हेर्दै मनमा शीतलता छाउँथ्यो । अझ जमिनमा पल्टेर माथि आकास हेर्दा कति आनन्द आउँथ्यो !
डुसल—ड्राब पुग्नु १० किलोमिटर जति बाँकी थियो । हामी एउटा सुन्दर सर्भिस् सेन्टरमा दिसापिसाब गर्न रोकियौं । बुहारीले ब्यागबाट ५०—५० सेन्ट चानचुने निकालेर बाँडीन् । त्यो पैसा मेसिनमा छिराएर टोइलेट पस्यौं ।
निस्किँदा सर्भिस् सेन्टरमा भाइ र बुहारीले खाजा र कफी किनेर सबैको हात—हातमा थमाए । त्यो खाँदै—पिउँदै बाटो लाग्यौं ।
हामी राईन रिभर लेखिएको एउटा ठूलो नदी जस्तो समुद्रमा पुगेछौं । त्यै माथिको पुल तरेर पारिको सहर पुग्यौं । त्यो नै डुसेल—ड्राब रहेछ । गाडी राख्ने पार्किङ खोज्न निक्कै बेर डुल्नु पर्यो । आखिरीमा एउटा खुल्ला पार्किङ भेटियो । गाडी त्यहिँ पार्क गरेर हामी बल्ल समुद्र सतहमा घुम्न निस्कियौं ।
फोटो खिच्दै उत्तरतर्फ लाग्यौं । जहाँ ठूलाठूला पानीजहाजमाथि रेस्टुरेन्ट, नदी किनारमा मेला अनि जताततै पिङ र रोलर कोस्टर थिए । युरोप डाँडापाखाविहीन, आँखैले नभ्याउने विशाल फाँट न हो । तर त्यस्तैमा पनि पर्यटक तान्न कति जानेका युरोपियनहरूले ? मानव श्रम र अक्कलले यो ठाउँलाई बडो रमाइलो बनाइदिएको थियो ।
भाइले एउटा बडेमाको खम्बा भएको ठाउँमा पुर्यायो । यसो हेर्दा धरहरा जस्तो । तर त्यसको टुप्पामा ठूलो छाता जस्तो संरचना देखिन्थ्यो । यसको फेदमा लाइन उभेर टिकट लिनु पर्दोरहेछ । त्यो बाहिरबाट हेर्दा मात्र खम्बा जस्तो रहेछ, भित्र त विशाल घर पो रैछ ।
हामी एकापट्टिबाट पस्दै थियौं अर्को तिरबाट मानिस निस्कँदै थिए । त्यति सानो गोलो खम्बाभित्र पनि सिस्टमले चल्ने मेसिन र लिफ्ट आहा ! हामी लिफ्ट चढेर अन्तिम तला पुग्यौं । निस्कने बित्तिक्कै एउटा पेय पदार्थ पाउने पबसँगै सिसैसिसाको रेस्टुरेन्ट थियो । छेउछेउमा पैसा हालेर खेल्ने मेसिन, ट्वाइलेट सबै—सबै भेटिए । भाइले पेय पदार्थ किनेर ल्याएपछि हामी एउटा टेबल रिजर्व गरेर बस्यौं ।
टेबलमा बसेर सेल्फी खिच्दै थियौं । एक्कासि हामी अर्को साइडमा पुग्यौं । दृश्य परिवर्तन भए । ‘होइन यो टेबल त घुम्छ कि के हो पूर्ण, हेर हेर ?’ भाइलाई भनें । टेबल तल जमिन जम्मै देखिने सिसामाथि थियो । हेर्ना साथ रिंगटा लाग्थ्यो ।
‘आफै हेर्नु नि अनि ?’ भाइले हाँस्दै भन्यो ।
एकपल्ट हिम्मत जुटाएर हेरेको त्यो तला नै जम्मै घुम्दो रहेछ, डरले झन्डै मरिन । बुहारीले त एकपल्ट पनि हेरिनन् । यसरी एक फन्को लगाइसकेपछि त्यो टेबल ठ्याक्कै लिफ्ट अघि रोकिँदोरहेछ ।
हामी उठेर लिफ्टको लाइनमा उभियौं । पगितो मान्छे नचढुन् भनेर होला लिफ्टमा चढाउने र ओराल्ने मान्छे उभिएका थिए । तल ओर्लेर माथि हेर्न पनि भुर्इंमै उत्तानो पल्टिनुपर्ने खालको थियो टावर । यसको नाम मैले मनमनै ‘जर्मनको धरहरा’ राखिदिएँ । नेपालको काठमाडौंको भीससेन स्तम्भ अर्थात् धरहरा सम्झिंदै ‘धरहरा अफ् डुसेल—ड्राब’ भनी उच्चारण गरें । वास्तवमा यो नाम त्यसलाई बढ्तै सुहाइरहे झैं पनि लाग्यो ।
डुसल—ड्राब राजधानीबाट कोसौं टाढा बेल्जियम र नेदरलेण्डको सिमानामा पर्दोरैछ । उत्तरी क्षेत्रमा पर्ने यो सहर जर्मनीको लागि अन्तर्राष्ट्रिय व्यापार र पर्यटनका हिसाबले महत्वपूर्ण मानिँदो रैछ । सहरको बीचमा लन्डनको थेम्सभन्दा ठूलो र हल्का फैलिएको एक समुन्द्र रहेछ जहाँ पानीजहाजको बाक्लै आवतजावत देखिन्थ्यो ।
जर्मनीको सातौं ठूलो यो सहरलाई ‘सपिङ्ग ईस्ट्रिट’ नामले समेत चिनिँदो रैछ । यहाँ कोर्निङसेली नामक सपिङ सेन्टर प्रसिद्ध रहेछ । यो उत्तरी राइन डुसेल ड्राबको कुल क्षेत्रफल ३४,०४३ वर्ग किलोमिटर र जनसङ्ख्या एक करोड ८० लाख रहेछन् ।
त्यसै दिन हामी बेल्जियम फिर्नु पर्थ्यो । त्यो अग्लो खम्बा छाडेर हतारहतार रोटेपिङ भएतिर लाग्यौं हामी । जर्मन भाषाका साइनबोर्ड र नामसँग हामीले नाता गाँस्न सकेनौं । अङ्ग्रेजी जर्मनीमा कतै काम लाग्दैन । कोही बोल्दैनन् र बोल्न पनि चाहँदैनन् । हामी पनि दिनभरि अङ्ग्रेजी बिर्सेर नेपाली भाषामै घुम्यौं । हिँड्दाहिँड्दै मज्जा लागिरहेको घामलाई पनि बादलले धपाई दियो । अनि त चिसो बढ्न थाल्यो ।
समुद्र किनारमा थियौँ बतास चल्नु पनि स्वाभाविक थियो। तर त्यहाँ त मान्छे नै उडाउने हावा पो चल्यो । मर्ने गरी हान्ने हावासँग जोगिन विजयजीलाई समाउँदै हिंडें । भाइले त सहरभित्र छिर्ने कुरो गर्दै थियो, तर थाकिसकेको मैले ‘हुन्छ’ भन्न सकिनँ । त्यहाँ लागिरहेको मेला पनि नानीहरुका लागि मात्र रहेछ ।
अरु सबै उस्तै लागे पनि त्यहाँ सा—साना काठका घुम्त्ती जस्ता आकर्षक दोकानहरूमा बेच्न राखिएका तात्तातो लोकल वाइन भने जाडोमा भिन्दै र मज्जाको लाग्यो । वाइन खाइसकेर कप घर लैजान पनि पाउने रहेछ । कपको पैसा अघि वाइन किन्दै काट्दा रैछन् । अनि कप नलैजानेलाई डिपोजिट पैसा फिर्ता पनि दिँदा रहेछन् । यो व्यापारिक शैली अचम्मको लाग्यो ।
हामीले पनि डुसेल—ड्राबको लोगो अंकित चार वटा हरियो रङको कप र तातो वाइन किन्यौं । खाँदैखाँदै नदी किनारा छाडेर सहरतर्फ लाग्यौं ।
डुसेल—ड्राब छाड्ने बेला बिर्तामोडबाट सिलिगुडी सामान किन्न गएर फिरेको कल्पना गरें । घर आइपुगेपछि डुसेल—ड्राब लोगो अड्ढित कप भाइबुहारीसँग दुई—दुई वटा बाँड्यौं । जर्मनी ठूलो देश छ, राजधानी बर्लिन पुग्न त प्लेन नै चढ्नुपर्छ । जे होस्, हामीले जर्मनीको एउटा सहर भए पनि घुमेर चित्त बुझायौं ।