काठमाडौं । मौलिक लोक तथा दोहोरी गीतमा ख्याती कमाएकी गायिका दुर्गा गुरुङ एकल साँझमा गुन्जिनुहुनेभएको छ ।
'कला र संस्कृतिको जगेना गरौं' भन्ने सन्देशसहित गायिका गुरुङको यही भदौ २५ गते काठमाडौंमा 'दुर्गा गुरुङ एकल साँझ २०७९' हुन लागेको हो । कार्यक्रम राष्ट्रिय नाचघर (सांस्कृतिक संस्थान) जमलमा हुनेछ । औपचारिक कार्यक्रमबाहेक उहाँले झण्डै साढे २ घण्टा लगातार प्रस्तुति दिनुहुनेछ । जसमा एकल र डोयट गरी १३ गीत समावेश गरिने गायिका गुरुङले जानकारी दिनुभयो । उहाँले नै स्वर दिनुभएका अरिजिनल गीतहरुमा साथ दिएका चर्चित कलाकारहरु नारायण रायमाझी, शर्मिला गुरुङ, दुर्गा गुरुङलगायतले साथ दिनुहुनेछ ।
'कोहलपुरैमा' गीतमा नारायण रायमाझी र लक्ष्मी न्यौपाने, 'देउराली भन्ज्याङ' (सालैजो)मा राजु गुरुङ, 'दाइ त मेरो लाहुर जाने'मा गणेश गुरुङ, कौडा गीतमा शर्मिला गुरुङ र दुर्गा गुरुङ तथा गुरुङ मातृभाषाको गीतमा कृष्ण गुरुङले साथ दिनुहुनेछ ।
स्याङ्जा जिल्लामा जन्मिएर उहाँ २०५१ सालमा लाइभ दोहोरी गीतबाट सांगीतिक क्षेत्रमा लाग्नुभएको हो । त्यसपछि काठमाडौंमा रेडियो नेपालबाट २०५३ सालमा 'स्याङ्जा डाँडा घुम्तीमा पहिरो छ, माया गहिरो छ' लोकगीत रेकर्ड गर्नुभयो । त्यही सालमा उहाँले रेडियो नेपालबाट स्वर परीक्षा पास गर्नुभएको थियो ।
२८ वर्षदेखि सांगीतिक क्षेत्रमा अनवरतरुपमा लागिरहनुभएका गायिका गुरुङले 'घुमी घुमी बसियो माहुरी' (कौडा), 'देउराली भन्ज्याङ' सालैजो, 'घरीकहाँ हो माया', 'दाइ त मेरो लाहुर जाने' लगायत चर्चामा रह्यो । त्यस्तै गुरुङ भाषाको पहिलो चलचित्र 'पातें' को गीत पनि उहाँले नै गाउनुभएको थियो ।
धनबहादुर गायकको संकलनमा रहेको कालजयी गीत 'यो दाजुको मिरमिरे आँखा' मा पनि २०६३ सालमा गायिका गुरुङले लक्ष्मी न्यौपाने, युक्त गुरुङ र पाण्डव सुनुवारसँगै रेडियो नेपालमा गाउने मौका पाउनुभएको थियो । मौलिक सोरठी, तीज गीत, घाँटु, लोकगीत, दोहोरीलगायत २५ सय हाराहारीमा आफूले गीत गाइसकेको गायिका गुरुङले बताउनुभयो । उहाँ गुरुङ मातृभाषा, तामाङ भाषा र सुदूरपश्चिममा प्रख्यात देउडा भाका समेत गाउन सिपालु हुनुहुन्छ ।
गायनकै सिलसिलामा बेलायत, जापान, जर्मन, कोरिया, हङकङ, बेल्जियमलगायत विश्वका २० वटा जति देश भ्रमण गरिसक्नुभएका गायिका गुरुङले पहिलो पटक एकल साँझ गर्न लाग्नुभएको हो । उहाँले आफ्नो सांगीतिक यात्राको लामो कालखण्डमा पहिलोपटक गर्न लाग्नुभएको एकल गायन उपलब्धिमूलक हुने आशा व्यक्त गर्नुभएको छ ।
'कलाकारहरुको मुख्य उपलब्धि भनेकै एकल साँझ हो । यो गायनको उद्देश्य भनेकै मैले जीवनकालमा गाएको गीतहरुलाई प्रत्यक्षरुपमा स्रोता, दर्शकमाझ प्रस्तुति दिनु हो । जिन्दगीमा एकल गायनको चाहना पूरा गर्न लागेकी छु र यो कार्यक्रम उपलब्धिमूलक हुने ठानेको छु,' उहाँले ग्लोबल मिडियामार्फत भन्नुभयो, 'मेरा भगवानरुपी दर्शक, स्रोता, इस्टमित्रहरुलाई कार्यक्रममा आइदिनु हुन र सहयोग पुर्याइदिनु हुन अनुरोध गर्न चाहन्छु ।' उहाँले एकल गायनमार्फत संकलित केही रकम जन्मथलो स्याङ्जामा अपांगता भएका बालबालिकाको आश्रममा सहयोग दिने योजना समेत बनाएको जानकारी दिनुभएको छ ।